रोहितको शतक मद्दतमा नेपालले वेस्ट इन्डिज ए लाई हरायो

काठमाडौं, १५ वैशाख । काठमाडौंमा आजदेखि सुरु भएको नेपाल र वेस्ट इन्डिज ए बीचको टी२० श्रृंखला अन्तर्गत पहिलो खेलमा नेपालले जीत हासिल गरेको छ । शनिबार भएको खेलमा नेपाल चार विकेटले विजयी भएको हो ।

वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्षुय नेपालले २ बल बाँकी छँदा ६ विकेट गुमाएर भेट्टायो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले शतकीय पारी खेले । उनले ५४ बलमा १० चौका र ५ छक्का मद्दतले ११२ रन बनाए । दीपेन्द्रसिंह ऐरीले २४ रन बनाए ।

वेस्ट इन्डिज एका लागि ओबेड मेकोएले ४ ओभरमा ३४ रन दिएर २ विकेट लिए । म्याथ्यु फोर्डेले ४ ओभरमा ४९ रन दिएर २ विकेट लिए । किमो पलले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०४ रन बनायो । वेस्ट इन्डिजका लागि कप्तान रस्टन चेजले अर्धशतकीय पारी खेले । चेजले ४६ बलमा ७४ रन बनाएर अन्तिम ओभरमा आउट भए । त्यस्तै अलिक अथानाजेले ४७ रन बनाए । किएसी कार्टीले ३८ रन बनाए ।

नेपालका लागि अविनाश बोहरा, कप्तान रोहित पौडेल, कमल सिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए ।

श्रृंखला अन्तर्गत दोस्रो खेल आइतबार हुने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय