४ लाख धरौटी बुझाएर छुटेका दिपेश फेरी पक्राउ

काठमाडौं ।रुपन्देही जिल्ला अदालतले तोकेको ४ लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन फेरि पक्राउ परेका छन् ।
बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीले यही वैशाख ७ मा उनलाई ४ लाख धरौटी बुझेर छाड्न आदेश दिएको थियो।तर,उनले धरौटी रकम जम्मा गर्न नसकेपछि थुनामै थिए। शुक्रबार धरौटी जम्मा गरेर थुनामुक्त भएलगत्तै उनलाई प्रहरीले पक्राउ गरी सिआइबीलाई जिम्मा लगाइदियो।
पुनसहित ६ जनालाई धरौटी बुझेर प्रहरीलाई छाड्न आदेश दिए पनि उनले धरौटी नबुझाएकाले एक साता देखि कारागार मै थिए।शुक्रबार दिपेश पुनले धरौटी बुझाएका हुन्।यद्यपि पुनः पक्राउ पर्ने बारे उनी जानकार थिए। अहिले पुनलाई सीआईबीले काठमाडौं ल्याएको छ।
जिल्ला अदालतले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउन र दीपेशसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो।दीपेशसँग ४ लाख, नविन अछामीसँग १० लाख, लिला चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, निता थापा मगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख धरौटीको माग गरिएको थियो।

