पुर्व राष्ट्रपति भण्डारी राजनीतिमा फर्कने तयारी, एमालेको कार्यक्रममा प्रमुख अतिथि बन्दै

काठमाडौं, ८ वैशाख । पुर्व राष्ट्रपति विद्या भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किने तयारीमा रहेको बुझिएको छ । उनी नेकपा एमालेको पूर्व उपाध्यक्ष समेत हुन् ।
हाल निजि निवास बुढानिलकण्ठमा बस्दै आएकी पुर्व राष्ट्रपति भण्डारीले पटकपटक एमालेमा फर्केर राजनीति गर्न चाहेको हल्ला चलेपनी त्यसले सार्थकता पाएको थिएन। राष्ट्रपति पदावधि सकिएपछि कतै नदेखिएको र उनलाई भेट्न भने एमाले नेताहरू पटकपटक जाने गरेको कारण उनी छिट्टै राजनीतिमा ‘कम्ब्याक’ गर्दैछिन भन्ने बुझ्न सकिन्थ्यो। एमाले भित्र अहिलेपनी विद्या भण्डारीको राम्रो पकड छ। झन्डै ३० प्रतिशत नेताकार्यकर्ता उनको पक्षमा छन् ।
पुर्व राष्ट्रपति भण्डारीलाई नेकपा एमालेको जनसंगठनहरूको महिला राष्ट्रिय भेलामा प्रमुख अतिथि बनाउने पक्का भएको छ।राजनीतिक पार्टीको कार्यक्रममा विद्या भण्डारी प्रमुख अतिथि हुने कुराले उनको राजनीतिमा ‘कम्ब्याक’ हुने पक्का पक्की जस्तै भएको एमालेका एक नेता बताउँछन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को जनसंगठन समन्वय संयन्त्रको बैठकले आगामी जेठ १६ र १७ गते जनसंगठनहरूको महिला राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ।भेला व्यवस्थापनका लागि अखिल नेपाल महिला संघका अध्यक्ष टुकादेवी हमालको संयोजकत्वमा ११ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ।
पार्टीले समग्र महिला आन्दोलनको इतिहास, नेतृत्व र उपलब्धिलाई स्मरणसहित स्थापित गराउन २३ वटै जनसंगठनहरूको महिला राष्ट्रिय भेला आयोजना गर्न लागिएको एमालेले जनाएको छ ।सोही कार्यक्रममा विद्या भण्डारी प्रमुख अतिथि बनेर कार्यक्रम उद्घाटन सहित मन्तव्य दिनेछिन् । भेला समापन भने पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।

