नेपाललाई हराउँदै युएई प्रिमियर कपको फाइनलमा

काठमाडौं, ७ वैशाख । ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको छ । अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा युएईले नेपाललाई ६ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ ।

नेपालले दिएको १२० रनको लक्ष्य युएईले १६ बल बाँकी छँदै ४ विकेटको क्षतिमा भेट्टायो । युएईका लागि आलिशान सराफुले ४१ बलमा सर्वाधिक ५५ रन बनाए । त्यस्तै विष्णु सुकुमारनले २८ रन बनाए । नेपालका लागि गुल्शन झाले २ विकेट लिँदा ललित राजवंशी र सोमपाल कामीले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११९ रन बनायो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५० रन बनाउँदा गुल्शन झाले २० तथा करण केसीले १७ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउनै सकेनन् ।

युएईका लागि बासिल हामिदले २ ओभरमा ४ रन दिएर २ विकेट लिए । त्यस्तै जुनेद सिद्दिकीले ४ ओभरमा २६ रन दिएर २ विकेट लिए । अली नासिरले ४ ओभरमा २८ रन दिएर २ विकेट लिए । ओमिद रहमान, आयान अफजल खान मोहम्मद फारुखले १-१ विकेट लिए ।

यस हारसँगै नेपालको लगातार दोस्रोपटक एसिया कपमा छनौट हुने सपना पनि तुहिएको छ । युएईले अब हङकङ र ओमानबीचको खेलको विजेतासँग आइतबार फाइनल खेल्ने छ । नेपालले तेस्रो स्थानका लागि शनिबार हङकङ र ओमानमध्ये पराजित टोलीसँग खेल्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय