राप्रपाले ५० हजार नेताकार्यकर्ता सहित काठमाडौं ठप्प पार्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौ ठप्प पार्नेगरी प्रदर्शन गर्ने भएको छ। पार्टीका ५० हजार नेताकार्यकर्ताले ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने नारासहित काठमाडौंमा प्रदर्शन गर्ने राप्रपाले जनाएको छ।

संवैधानिक राजतन्त्र पुनस्र्थापनासहित संघीयता र धर्मनिरपेक्षता खारेजीको माग गर्दै आएको राप्रपाले बिहान ११ बजे काठमाडौंमा जनप्रदर्शन गर्न लागेको हो ।

राप्रपाले सरकारलाई यसअघि पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब सिर्जना गर्नका लागि जनप्रदर्शन गर्न लागेको भन्दै सरकारले प्रदर्शनमा निषेधित क्षेत्र घोषणा गरेर हस्तक्षेप गरे त्यसको प्रतिवाद गर्ने समेत जनाएको छ ।

भृकुटीमण्डपबाट सुरु हुने प्रदर्शन काठमाडौंका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा परिणत हुनेछ । राप्रपाले आजको प्रदर्शनमा काठमाडौ बाहिरबाट समेत हजारौं नेताकार्यकर्तालाई प्रदर्शनमा उतार्ने दाबी गरेको छ ।

पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले पार्टीले अघि सारेको ४० बुँदे माग पूरा गराउने दबाब सहित यसअघि जिल्लाहरूमा विभिन्न कार्यक्रम गरिएको र आज काठमाडौँमा हुन लागेको जनप्रदर्शनमा देशभरका कार्यकर्ता सहभागी हुने जानकारी दिए ।

राप्रपाले सरकारी कर्मचारी तथा पेसागत दलीय भ्रातृ संगठनहरूको खारेजी हुनुपर्ने, संवैधानिक नियुक्तिहरूमा दलीय भागबन्डा नहुने संवैधानिक सुनिश्चितता हुनुपर्ने, शिक्षा र स्वास्थ्य सुधार हुनुपर्ने माग गरेको छ ।यसैगरी २०४६ सालपछि उच्चपदस्थ नेता, कर्मचारी तथा परिवारको सम्पत्ति छानबिन गर्नुपर्नेलगायत माग पनि गरेको छ ।

सहकारी तथा लघुवित्तको समस्या समाधान हुनुपर्ने, ललिता निवास, वाइडबडी, नक्कली भुटानी शरणार्थी, ठुलो सुन काण्डलगायतको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग पनि राप्रपाको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय