आइपिएलमा बेङ्गलुरुको तेस्रो हार, लखनउ २८ रनले विजयी

काठमाडौं, २० चैत । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट आइपिएलमा लखनउ सुपर जायन्ट्सले लगातार दोस्रो जीत निकालेको छ । मङ्गलबार भएको खेलमा लखनउले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई २८ रनले हराएको हो ।
लखनउले दिएको १८२ रनको विजयी लक्ष्य पछ्याएको बेङ्गलुरु २ बल अगावै १५३ रनमा समेटियो । महिपाल लोमरोरले सर्वाधिक ३३ रन बनाए । त्यस्तै रजत पाटिदारले २९ र विराट कोहलीले २२ रन बनाए । कप्तान फाफ डु प्लेसी १९ रनमा रनआउट भए । अन्यबाट उल्लेख्य योगदान हुन सकेन ।
बेङ्गलुरुलाई सस्तैमा समेट्न लखनउका मयंक यादवले ४ ओभरमा १४ रन दिएर ३ विकेट लिए । त्यस्तै नवीन उल हकले ३.४ ओभरमा २५ रन दिएर २ विकेट लिए । मनिमरन सिदार्थ, मार्कस स्टोइनिस र यश ठाकुरले १ १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको थियो । लखनउका लागि ओपनर क्विन्टन डिककले सर्वाधिक ८१ रन बनाए । निकोलस पूरन ४० रनमा अविजित रहे । बेङ्गलुरुका लागि ग्लेन म्याक्सवेलले ४ ओभरमा २३ रन दिएर २ विकेट लिए । रिश टोपली, यश दयाल र मोहम्मद सिराजको नाममा १ १ विकेट रह्यो ।
यस जीतसँगै ३ खेलमा ४ अंक जोडेको लखनउ अंकतालिकामा चौथो स्थानमा उक्लिएको छ भने ४ खेलमा २ अंक मात्र रहेको बेङ्गलुरु अंकतालिकामा पुछारबाट दोस्रोमा छ ।
आइपिएलमा अब: दिल्लफ क्यापिटल्स र कोलकाता नाइट राइडर्स । समय: बेलुका ७:४५ बजे

