आइपिएल क्रिकेट: राजस्थानको तेस्रो जीत, मुम्बईको तेस्रो हार

काठमाडौं, १९ चैत । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट आइपिएलमा पाँचपटकको विजेता मुम्बई इन्डियन्सले लगातार तेस्रो हार व्यहोरेको छ । सोमबार भएको खेलमा राजस्थान रोयल्सले मुम्बईलाई ६ विकेटले हराएको हो ।

मुम्बईले दिएको १२५ रनको विजयी लक्ष्य राजस्थानले २७ बल अगावै ४ विकटको क्षतिमा भेट्टायो । राजस्थानका लागि रियान परागले अविजित अर्धशतकीय पारी खेले । ३९ बल खेलेका उनले ५ चौका र ३ छक्कासहित ५४ रन बनाए । मुम्बईका लागि आकाश मधवालले ३ विकेट लिँदा कुएना माफाकाले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२३ रन बनाएको थियो । कप्तान हार्दिक पान्ड्याले ३४ र तिलक वर्माले ३२ रन बनाए । टिम डेभिडले १७ र इशान किशनले १६ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

राजस्थानका लागि युजभेन्द्र चहलले ४ ओभरमा ११ रन दिएर ३ विकेट लिए । त्यस्तै ट्रेन्ट बोल्टले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए । नान्द्रे बर्गरले २ तथा आवेश खानले १ विकेट लिए ।

योसँगै ३ खेलमा ३ जीत निकालेको राजस्थान ६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ भने लगातार तेस्रो हार व्यहोरेको मुम्बई अंकतालिकामा पुछारमा छ ।

आइपिएलमा अब: रोयल च्यालेन्जर्स बैङ्गलोर र लखनउ सुपर जायन्ट्स । समय: बेलुका ७:४५ बजे

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय