नयाँ वर्षमा पोखरामा ‘फेवा नववर्ष’ महोत्सव

पोखरा, २० चैत । नयाँ वर्षका अवसरमा ‘पर्यटन, संस्कृति र खाना’ को नारासहित पोखराको फेवाताल किनारमा फेवा नव वर्ष महोत्सवको १९औँ संस्करण हुने भएको छ । होटल सङ्घ पोखराले नेपाली नयाँ वर्ष धुमधामका साथ मनाउन र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न विविध सांस्कृतिक कार्यक्रमसहित महोत्सव गर्न लागेको हो ।

यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म पर्यटकीय क्षेत्र ड्यामसाइडदेखि हल्लनचोकसम्मको तीन किमी सडक क्षेत्रमा महोत्सव हुने आयोजक होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उनका अनुसार नव वर्ष महोत्सवलाई भव्य बनाउने तयारी भइरहेको छ । महोत्सवको प्रमुख उद्देश्य नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्नु हो । विविध सांस्कृतिक झाँकी, नृत्य र खानाका स्टल महोत्सवमा राखिने अध्यक्ष सुवेदीको भनाइ छ ।

“नेपालका मुख्य सहरमा अङ्ग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकामा नेपाली नयाँ वर्ष पनि उत्तिकै उल्लासका साथ मनाउन महोत्सवलाई निरन्तरता दिइएको हो”, अध्यक्ष सुवेदीले भने, “पर्यटनको राजधानी घोषणापछि पहिलोपटक पोखरामा हुन लागेको यस महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकलाई मनोरञ्जन प्रदान गर्नेछौँ ।”

महोत्सव आन्तरिक र बाह्य गरी तीन लाख पर्यटकलाई अवलोकन गराउने आयोजकको लक्ष्य छ । महोत्सव तयारीका लागि विभिन्न २१ वटा समिति र क्षेत्रीय संयोजक गठन गरिएको छ । सो अवसरमा होटल सङ्घ पोखरा मातहतका होटलहरुले प्रकाशित गरेको दररेटमा २० प्रतिशतसम्म छुट प्रदान गरिने निर्वतमान अध्यक्ष विकल तुलाचनले बताए ।

महोत्सवका आकर्षणहरुमा परम्परागत नेपाली खानाको प्रवर्द्धन, सांस्कृतिक झाँकी, लोकदोहोरी, पप कन्सर्ट, स्थानीय कलाकारद्वारा सांस्कृतिक नृत्य, हास्यव्यङ्ग्य प्रहसन र पर्यटक दौड प्रतियोगितालगायत रहेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय