लोकेशको विस्फोटक शतकका बाबजुद नेपाल ‘ए’ को नाटकीय हार

काठमाडौं, १६ चैत । काठमाडौंमा जारी नेपाल ए र आयरल्यान्ड ए बीचको टी२० श्रृंखलाअन्तर्गत पहिलो टी२० खेलमा नेपालले नाटकीय पतनसहित हार व्यहोरेको छ । नेपाल आयरल्यान्ड ए सँग २१ रनले पराजित भएको हो ।
आइरल्यान्ड ए ले दिएको २२३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ए ३ बल अगावै २०१ रनमा अलआउट भयो । नेपाल ए का लागि लोकेश बमले विस्फोटक शतकीय पारी खेलेका थिए । त्यसका बाबजुद नेपालले नाटकीय पतनका साथ हार व्यहोर्यो । नेपाल १६औं ओभरमा ३ विकेटको क्षतिमा १८९ रनको अवस्थामा थियो । त्यसपछि लोकेश आउट हुँदा नेपाललाई २४ बलमा ३४ रनको आवश्यकता थियो र ६ विकेट बाँकी थियो ।
त्यसपछि थप ५ रन जोड्दा ४९ रनमा खेलिरहेका आरिफ शेख पनि आउट भए । त्यसपछि १९७ रन जोड्दा नेपालले छैटौं विकेट गुमाउँदा १९९ रनमा सातौंं विकेट गुमायो । २०० रनमा आठौं र नवौं विकेट गुमाएको नेपालले त्यसपछि १ रन जोड्दा १०औं विकेट गुमाएर अलआउट भयो । त्यसअघि ६८-३ को अवस्थाबाट लोकेश र आरिफ मिलेर चौथो विकेटका लागि १२१ रनको साझेदारी गरेका थिए । नेपालले ९ देखि १४ ओभरको बीचमा कुल १०० रन जोडेको थियो ।
आयरल्यान्ड ए का लागि फियोन ह्यान्ड र म्याथिउ हम्फ्रिसले ३-३ विकेट लिए भने म्याथिउ फोस्टरले २ विकेट लिँदा थोमस माएस र गेभिन होएले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड ए ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२२ रन बनाएको थियो ।

