नेपालमा गाडी दुर्घटना : पाँच बर्षमा ११,३०५ को ज्यान गयो

काठमाण्डाै। नेपालको ठुला राजमार्ग र पहाडी मार्ग यात्राको लागि कति सहज र सुरक्षीत होलान् ? हरेक दिन दुर्घटनाका खबर आइरहेका हुन्छन् र त्यसमा कसै न कसैको ज्यान गएकै हुन्छ। पछिल्लो तथ्यांक अनुसार नेपालमा बार्षिक झन्डै २ हजारले सडक दुर्घटनामा ज्यान गुमाउने गरेका छन् ।
गाडी दुर्घटनाकै कारण धेरैले घाइते तथा अङ्गभङ्ग भएर कष्टकर जीवन बिताइरहेका छन् । एउटा तथ्यांक अनुसार गाडी दुर्घटनाबाट गएको पाँच वर्षमा ११ हजार तीन सय पाँच जनाले ज्यान गुमाएका छन् । त्यसैगरी दुर्घटनाबाट २७ हजार ७ सय २६ जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म अर्थात गएको १० महिनामा दुर्घटनाबाट एक हजार तीन सय तीन जनाले ज्यान गुमाइसकेका छन् । यो डरलाग्दो तथ्यांक दैनिक बढिरहेको छ।
गाडी दुर्घटनाको अवस्थालाई हेर्दा सबैभन्दा बढी मधेस प्रदेसमा क्षति भएको देखिन्छ। मधेश प्रदेशका ८ जिल्लामा मात्र साउनदेखि माघ मसान्तसम्म दुई सय ९० जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांकले देखाउछ।
मधेस प्रदेश पछि क्रमशः लुम्बिनी प्रदेशमा दुई सय ६१, कोशी प्रदेशमा दुई सय १९, बाग्मती प्रदेशमा एक सय ७३, सुदूरपश्चिम प्रदेशमा एक सय चार, गण्डकी प्रदेशमा एक सय र कर्णाली प्रदेशमा ६० जनाले गाडी दुर्घटनाबाट ज्यान गुमाएका छन् ।
यसैबीच चालु आर्थिक वर्षको साउनदेखि यता गाडी दुर्घटनाबाट काठमाण्डाै उपत्यकामा मात्र एक सय १७ जनाले ज्यान गुमाएका छन् । यसरी हेर्दा कुनै महामारी वा युद्धमा भन्दा बढी सवारी दुर्घटनामा ब्यक्तिको ज्यान गइरहेको देखिन्छ।

