रौतहटबाट पोखरा जाँदै गरेको बस चितवनमा दुर्घटना, एकको मृत्यु

चितवन, ४ चैत । रौतहटबाट पोखरा जाँदै गरेको बस चितवनमा रोकिराखेको ट्रकसँग ठोक्किएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ट्रक चालकसहित चार जना घाइते भएका छन् ।
नारायणगढ-मुग्लिङ सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-६ जलबिरेमा ग १ ख ८५२४ नम्बरको बस सडकछेउमा रोकिराखेको ना ६ ख ३२८० नम्बरको ट्रकसँग ठक्कर खएको थियो । दुर्घटनामा परी पाँचजना घाइते भएकामा ३७ वर्षीय भारतीय नागरिक गौरी दासको उपचारका लागि भरतपुरतर्फ ल्याउदै गर्दा बाटोमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
अन्य घाइतेहरुमा ट्रक चालक वीरगन्ज-२३ बस्ने ३३ वर्षीय हाकिम मिया, बसमा सवार सर्लाहीको बरहथवा नगरपालिकाको मिलनचोक बस्ने २५ वर्षीया पूजा गुप्ता, भारत सितामढी जिल्ला रमनगरा बस्ने ३२ वर्षीय अम्बरनाथ कुमार र भारतको विहार राज्य मजापुर जिल्ला बस्ने ३९ वर्षीया रिता गुप्ताको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
बस चालक कावासोतीका ३९ वर्षीय लक्ष्मण गुरुङलाई नियन्त्रणमा लिइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

