सुस्मिता मृत्यु प्रकरण: घटनास्थलबाट ‘सुसाइड नोट’ फेला, अनुसन्धान हुँदै

काठमाडौं, ३ चैत । काठमाडौंको पशुपतिनाथ क्षेत्रमाथिको वनकाली जङ्गलमा शुक्रबार विहान मृत भेटिएकी किशोरीको साथबाट एउटा नोट पनि फेला परेको छ । सिन्धुली घर भई काठमाडौंको कपन बस्दै आएकी १९ वर्षीया सुस्मिता थापा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । घटनास्थलबाट सुसाइड नोट भेटिएको हो ।
उक्त नोटमा लेखेको कुरा भने प्रहरीले खुलाएको छैन । गौशाला प्रहरीका अनुसार अनुसन्धानकै क्रममा भएकाले नोटमा के लेखिएको छ भनेर अहिल्यै खुलाउन नमिल्ने जनाइएको हो । उक्त नोट सुस्मिताले नै लेखेको हो वा होइन भन्नेबारे पनि अनुसन्धान गरिँदै छ ।
गुहेश्वरीबाट उकालो लागेर शेषमान्तक वन जाने बाटोको बाँयापट्टि सिँढीको नजिकै झुन्डिएको अवस्थामा शुक्रबार अन्दाजी १९ वर्षकी किशोरीको शव भेटिएको थियो । केही समयमा उक्त शव बिहिबार बेलुकादेखि हराइरहेको भनिएकी १९ वर्षीया सुस्मिता थापाको रहेको खुलेको थियो । घटना आत्महत्याजस्तै देखिएको प्रहरीको प्रारम्भिक अनुमान छ । पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ । त्यसपछि थप क्लु प्राप्त हुने जनाइएको छ ।
रिलायन्स कलेजमा अध्यनरत उनी बिहिबार विहान कलेज जाने भनेर हिँडेको तर त्यसपछि सम्पर्कमा आएकी थिइनन् । उनी रुमबाट निस्किएको पनि सिसिटिभी फुटेजमा देखिएको थियो ।
संयुक्त यातायात चढेर चाबिहलतर्फ गएकी भनिएकी उनी त्यसपछि कसैको सम्पर्कमा नआएपछि हराएको आशंका गरिएको थियो । त्यसै अनुसार आफन्तहरुले खोजिदिन अपिल गरेका थिए । सामाजिक सञ्जालमा ‘मिसिङ’ भनेर पोस्टहरु पनि सार्वजनिक हुन थालेका थिए ।

