पशुपति माथिको जङ्गलमा किशोरी मृत भेटिइन्

काठमाडौं, २ चैत । काठमाडौंको पशुपतिनाथ क्षेत्रमाथिको जङ्गलमा शुक्रबार विहानै एउटा शव फेला पर्यो । गुहेश्वरीबाट उकालो लागेर शेषमान्तक वन जाने बाटोको बाँयापट्टि सिँढीको नजिकै झुन्डिएको अवस्थामा अन्दाजी १९ वर्षकी किशोरीको शव भेटिएको थियो ।
उक्त शव बिहिबार बेलुकादेखि हराइरहेको भनिएकी १९ वर्षीया सुस्मिता थापाको रहेको खुलेको छ । पशुपति क्षेत्रमा मर्निङ वार्क गर्न जाने व्यक्तिहरुले रुखमा झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार आत्महत्या हुनसक्ने प्रारम्भिक अनुमान छ ।
सिन्धुली घर भई हाल काठमाडौंको कपन बस्दै आएकी सुस्मिता बिहिबार विहान आफन्तको घर जान भनी निस्किएको उनका निकटस्थले बताएका छन् । उनी रुमबाट निस्किएको पनि सिसिटिभी फुटेजमा देखिएको थियो ।
संयुक्त यातायात चढेर चाबिहलतर्फ गएकी भनिएकी उनी त्यसपछि कसैको सम्पर्कमा नआएपछि हराएको आशंका गरिएको थियो । त्यसै अनुसार आफन्तहरुले खोजिदिन अपिल गरेका थिए । सामाजिक सञ्जालमा ‘मिसिङ’ भनेर पोस्टहरु पनि सार्वजनिक हुन थालेका थिए ।
प्रहरीले शव पोस्टमार्टमका लागि लगेको छ भने यो आत्महत्या हो वा हत्या हो भन्नेबारे अनुसन्धानबाट मात्रै थाहा हुने जनाइएको छ ।

