त्रिदेशीय टी-२०आई श्रृंखलाको पहिलो खेलमा नेपालले हङकङसँग खेल्दै

काठमाडौं, २७ फागुन । हङकङमा आजदेखि सुरु हुने नेपाल, हङकङ र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय टी-२० आई श्रृंखलाको पहिलो खेलमा नेपालले आज घरेलु टोली हङकङसँग खेल्दै छ । विहान सवा ११ बजेदेखि सुरु हुने खेलको प्रत्यक्ष प्रसारण आइसिसी टिभी र युट्युबमा क्रिकेट हङकङको च्यानलमार्फत हेर्न सकिनेछ ।

आगामी टी-२० विश्‍वकपको तयारी स्वरुप यस श्रृंखला खेल्न लागिएको हो । टी-२० विश्‍वकपमा पिएनजी पनि खेल्दै छ । नेपालले भोलि मार्च ११ मा दोस्रो खेलमा पिएनजीसँग खेल्ने छ । मार्च १३ मा शीर्ष २ टोलीले फाइनल खेल्ने छन् ।

यसअघि हिजो भएको फ्रेन्डसिप कप टी-२०आई खेलमा नेपाल हङकङसँग ७३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १३९ रनमा अलआउट भएको थियो ।

यस श्रृंखलाका लागि क्यानले केही मुख्य खेलाडीलाई आराम दिँदै टोली घोषणा गरेको थियो । आसिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र अनिल शाहलाई आराम दिइँदा लोकेश बम र आकाश चन्द टोलीमा समावेश छन् । त्यसैगरी हालै नेपालमा सम्पन्‍न टी-२० श्रृंखलाबाट रोहित पौडेल, कुशल भुर्तेल, गुल्शन झा, आरिफ शेख, बिबेक यादव, करण केसी, विनोद भण्डारी, अविनाश बोहरा, सन्दीप जोरा र प्रतिश जिसीले निरन्तरता पाएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय