शालीन मृत्यु प्रकरण: घटनास्थलमा भेटिएको नोट उनले नै लेखेको पुष्टि

चितवन, २२ फागुन । चितवनको रत्ननगरमा रहेको एक विद्यालयमा अध्ययनरत १४ वर्षीया छात्रा शालीन पोखरेल मृत भेटिएको घटनामा फेला परेको नोट उनले नै लेखेको पुष्टि भएको छ ।
गत साता आफु बस्दै आएको होस्टलको कोठामा नै झुन्डिएको अवस्थामा भेटिएकी शालीनको हत्या शंकास्पद रहेको भन्दै सामाजिक सञ्जालदेखि सडकसम्म चर्को आवाज उठेको थियो । यद्यपि प्रमाणहरु र घटनाक्रमका आधारमा आत्महत्या नै भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको थियो । त्यसमाथि पनि घटनास्थलमा भेटिएको सुसाइड नोटको फरेन्सिक जाँच गर्दा उक्त नोट शालिनले नै लेखेको पुष्टि भएको प्रहरी स्रोतले जनाएको छ ।
शालीनले लेखेको उक्त सुसाइड नोटमा ‘Sorry Everybody, Sorry for everything, please tell my mom dad that I miss them, I am Sorry’ लेखिएको छ । उक्त लेखाई शालीनकै भएको फरेन्सिक जाँचबाट पुष्टि भएको हो ।
त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा उनीमाथि बलात्कार नभएको भनेर रिपोर्ट आएको थियो । शालीनको आजै दिउँसो उनका बुबा दीपेन्द्र र आमा सगुनको उपस्थितिमा पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
दीपेन्द्र र सगुनको बीचमा १० वर्षअघि सम्बन्ध विच्छेद भएको थियो । त्यसयता दीपेन्द्र काठमाडौं थिए भने सगुनले पाकिस्तानीसँग बिहे गरेर दुबईमा बस्दै आएकी थिइन् । त्यसपछि शालीन रत्ननगर-१५ माधवपुरस्थित मामाघरको जिम्मेवारीमा बस्दै आएकी शालीन स्कुलकै होस्टलमा बसेर पढ्थिन् ।
शालीन अघिल्लो शनिबार बिहान १० बजेतिर कोठाको पंखामा स्काउटको डोरी लगाएर झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । उनका बुबा दीपेन्द्रले आत्महत्याको आशंकालाई नकार्दै आएका थिए र बलात्कार भएको दाबी गर्दै आएका थिए ।
यो प्रकरणमा दीपेन्द्रका भाइले जिल्ला प्रहरी कार्यालय, चितवनमा विद्यालयका प्रिन्सिपल, भाइस-प्रिन्सिपल र होस्टल वार्डेनविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए। अहिले उनीहरु प्रहरी हिरासतमै छन् ।

