दोश्रो ‘आश्रय कप २०८०’ को उपाधि आयोजक टिम आश्रयलाई

काठमाडौं, २१ फागुन । आश्रय समूह लागू औषध तथा पुर्न स्थापना केन्द्रले आयोजना गरेको ‘अन्तर रिह्याब फाइभ ए साईड फुटबल प्रतियोगिता’को उपाधि आयोजक टिम आश्रय समूहले जित्न सफल भएको छ।
सुन्दरीजल स्थित आश्रय समूहको होम ग्राउन्डमा भएको सो प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरका गरी कुल १३ वटा पुर्न:स्थापना केन्द्रहरु सहभागी थिए । दुई दिनसम्म चलेको प्रतियोगितामा आश्रय समूह विजेता हुँदा सोबर रिकभरी सेन्टर उपविजेता तथा हार्मोनी तेस्रो भएको छ ।
विजेता टिमले रु ३० हजार, उपविजेता ले रु २० हजार र तेस्रो हार्मोनीले रु १० हजार नगदसहित मेडल, प्रमाणपत्र र ट्रफी हासिल गरेको छ । पुरस्कार गोकर्णेश्वर नगरपालिका नगर प्रमुख “दिपक कुमार रिसाल” ले प्रदान गरेका थिए । उनले लागूऔषध मुक्त समाज बनाउन खेलकुद एकदमै महत्त्वपूर्ण भुमिका रहेको भन्दै सुन्दरीजल स्थित गोकर्णेश्वर नगरपालिकाले अन्तरास्ट्रिय स्तरको कबर्ड हल बनाई रहेको र आउने वैशाखमा निर्माण सम्पन्न भई हस्तान्तरण गर्ने कार्य योजना रहेको बताए ।
तेस्तै आयोजक टोली एवं आश्रय समूहका संस्थापक छिरिङ शेर्पाले लागू मुक्त समाज निर्माणको लागि खेलकुद अपरिहार्य रहेको भन्दै आउदो दिनहरुमा पनि “आश्रय समूह” ले खेलकुद मात्र नभइ अन्य विभिन्न माध्यम बाट लागू औषधको जोखिममा रहेका युवाहरुलाई, प्रयोगकर्ताहरु र लागु औषध सम्बन्धि काम गर्ने विभिन्न संघ संस्थाहरु, पुर्नस्थापना केन्द्रहरुको एकता, सचेतना र लागु औषध मुक्त समाज निर्माण गर्न एक्यवद्धता भई अघि बढ्ने र कार्यक्रम आयोजना गर्ने प्रतिबद्ध सहित सहभागी सम्पुर्ण टिमलाई धन्यवाद ज्ञापन गरे ।



