कांग्रेस बाहेकको गठबन्धन सरकार आजै

काठमाडौं, २१ फागुन । अन्ततः सत्ता गठबन्धन भत्किएको छ । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको ‘काँध’ फेरेर एमालेसँग सहकार्य गर्ने भएका छन् ।
स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री दिएर सत्ता गठबन्धन २०७९ पुस १० कै निरन्तरतामा पुगेको छ । अब गठबन्धनबाट काँग्रेससँगै नेकपा एकीकृत समाजवादी पनि आउट हुनेछ। नयाँ गठबन्धनबाट पनि प्रधानमन्त्री प्रचण्ड नै हुनेछन् भने एमालेले उपप्रधानमन्त्री सहित अर्थ पाउनेछ।
नयाँ गठबन्धनमा संचार र उर्जा माओवादी आफैंले राख्नेछ भने अन्य मन्त्रालय पार्टीको हैसियत अनुसार भागबन्डा हुनेछ । आइतबार राती र सोमबार बिहान भएको छलफलले रवि लामिछानेलाई गृहमन्त्री दिन र एमालेलाई सरकारमा सहभागी गराउन सहमति गरेको स्रोतको भनाइ छ।

