बाबुरामको कटाक्ष : पुराना शासक र ‘क्रान्तिकारी’ उस्तै !
काठमाडौ,१९ फागुन। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले जनताले आन्दोलन गरेपछि आयोग बनाएर टार्ने तर समस्या उस्तै राख्ने सत्ताधारी माथी कटाक्ष गरेका छन् ।
डा.भट्टराईले पुराना शासकहरुको शैली र नियत भन्दा अहिलेका ‘क्रान्तिकारी’ शासकको शैली र नियत फरक नभएको समेत बताएका छन् । ‘मिटरब्याज तथा ठगी विरूद्ध किसान मजदूर संघर्ष समिति’ का अगुवाहरूसंगको छलफल पछि शनिबार बेलुकी बाबुरामले लेखेका छन्,-‘मिटरब्याज तथा ठगी विरूद्ध किसान मजदूर संघर्ष समिति’ का अगुवाहरूसंग उनीहरूका मागहरूवारे गम्भीर छलफल!
उनले सामाजिक संजालमा अगाडी लेखेका छन्-‘मेची-महाकालीबाट पैदल हिॅडेर आएका देशभरका हजारौं मिटरब्याज पीडितहरूका जायज माग शीघ्र समाधान गर्नुसट्टा उनीहरूलाई थकाउने गलाउने नीति लिएको आशंका !’
उनको प्रश्न पनि छ,-‘गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न समेत सरकारलाई के ले रोकेको हो? आन्दोलन गरेपछि आयोग बनाएर टार्ने र समस्या ज्यॅूकात्यू राख्ने पुराना शासकहरूको शैली र नियत भन्दा अहिलेका ‘क्रान्तिकारी’ शासकहरूको शैली र नियत कसरी फरक भयो?’

