त्रिदेशीय टी-२०आई श्रृंखलामा नेपाल र नामिबिया खेल्दै, नेपाललाई जित्नैपर्ने दबाब

काठमाडौं, १५ फागुन । काठमाडौंमा जारी हुने नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय टी-२० श्रृंखलाको चौथो खेलमा नेपालले आज नामिबियासँग खेल्दै छ । त्रिवि क्रिकेट मैदानमा हुने खेल विहान साढे ११ बजेदेखि सुरु हुने छ ।
नेपालले यस श्रृंखलामा दोस्रोपटक नामिबियासँग खेल्न लागेको हो । यसअघि मङ्गलबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । त्यस्तै बुधबार दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनको झिनो अन्तरको हार व्यहोरेको थियो ।
नेपाललाई फाइनलमा पुग्ने सम्भावना कायमै राख्न आजको खेल जित्नैपर्ने दबाब छ । यदि नामिबियासँग पराजित भएमा नेपाल घरेलु मैदानमा भएको श्रृंखला जित्नबाट वञ्चित हुने छ । यसअघि सम्पन्न लिग २ का चार खेलमध्ये पनि नेपालले एक मात्र खेल जितेको थियो ।
उता नेदरल्यान्ड्सले भने २ मध्ये २ नै खेल जित्दै फाइनल सम्भावना बलियो बनाउँदा नामिबियाले एक खेल जितेको छ । आजको खेल नामिबियाले जितेको खण्डमा नेपाल एक खेल अगावै फाइनल होडबाट बाहिरिने छ ।
आइसिसी क्रिकेट विश्वकप लिग-२ को श्रृंखला सकिएसँगै यिनै तीन टोलीले आउँदै गरेको टी२० विश्वकपको तयारी स्वरुप टी-२०आई श्रृंखला खेलिरहेका हुन् । आगामी जुनमा हुने टी२० विश्वकपमा नामिबिया र नेदरल्यान्ड्स पनि खेल्दैछन्, नेपाल र नेदरल्यान्ड्स एकै समूहमा समेत रहेका छन् ।

