प्रचण्डको छोरीको निम्तो बाबुरामद्वारा बहिस्कार !

काठमाडौ,१७ फागुन। ‘घुमौँ भरतपुर’ भन्ने नारासहित शुक्रबारदेखि शुरु हुने भरतपुर भ्रमण वर्ष २०२४ को औपचारिक उद्घाटनमा पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नजाने भएका छन् ।
प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेनु दाहालले डा.भट्टराई समेत सबै पुर्व प्रधानमन्त्रीलाई निम्तो पठाएकी छन् । रेनु दाहालको सचिवालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल र पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल बिहिवार नै भरतपुर पुगेका छन् ।
यसैगरी पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली,पुर्व प्रधानमन्त्री झलनाथ खनाल र मन्त्री परिषदका पुर्व अध्यक्ष खिलराज रेग्मी समेत शुक्रबार भरतपुर पुग्नेछन् ।तर, पुर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले भने भरतपुर नजाने बताएका छन् । स्रोतका अनुसार डा.भट्टराई काठमाडौ मै रहने तर भरतपुर नजाने भनिसकेका छन् ।
भरतपुर महानगरपालिकाको आयोजनामा नारायणी किनारमा हुन लागेको उद्घाटन कार्यक्रममा रेनु दाहालका बुबा एवं प्रधानमन्त्री प्रचण्ड प्रमुख अतिथि छन् । अन्य पाँचजना पूर्वप्रधानमन्त्रीलाई बिशेष अतिथिको रुपमा निम्तो गरिएको थियो।
बाम एकताको चर्चासंगै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच अहिले हिमचिम बढेको छ। ओलीको जन्मदिनमा शुभकामना दिएका प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभा अध्यक्षमा एमालेको साथ खोजेका छन् ।हालको सत्ता गठबन्धनमा कांग्रेससँग माओवादीको सम्बन्ध चिसिँदै जानु र एमाले नजिक हुँदै गर्नुले बाबुराम पनि प्रचण्डसंग खुशी छैनन् । बाबुरामसंग पार्टी एकता गर्ने भनेर प्रचण्डले एमालेसँग सम्बन्ध अगाडी बढाएको बाबुरामलाई मन परेको छैन।
भ्रमण वर्ष उद्घाटन कार्यक्रममा ५० हजारलाई सहभागी गराउने भनिएको छ भने भ्रमण बर्षमा ५ लाख पर्यटक चितवन भरतपुर पुग्ने नगरपालिकाको लक्ष्य छ।

