पत्रकारमाथि नगर प्रहरीले गरेको कुटपिटको महासंघद्वारा निन्दा

काठमाडौं, १७ फागुन । बुधबार काठमाडौंको सुन्धारामा महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच भएको झडपमा परी एक पत्रकार पनि घाइते भएका छन । नगर प्रहरीबाट उनीमाथि आक्रमण भएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण गराएको छ ।
नेपाल पत्रकार महासंघ प्यूठान शाखाका सदस्य रहेका पदम पोखरेलमाथि कुटपिट हुनुका साथै उनको क्यामेरालगायतका सामग्री खोसिएको थियो । प्रहरी र व्यवसायीबीचको झडपको दृश्य खिचिरहेका पोखरेलमाथि नगर प्रहरीले कुटपिट गरेका थिए ।
बुधवार साँझ काठमाडौंको सुन्धारामा महानगर प्रहरीले सडक व्यापारीहरूलाई बलपूर्वक हटाइरहेको दृश्य खिचिरहेका उनले पत्रकार परिचयपत्र देखाउँदा देखाउँदै पनि नगर प्रहरीले कुटपिट गरेको बताएका छन् ।
यस घटनाप्रति निन्दा व्यक्त गर्दै महासंघले नागरिकलाई सुसूचित गराउने जिम्मेवारी वहन गर्ने पत्रकारलाई नगर प्रहरीले गरेको यो हर्कत प्रेस स्वतन्त्रतामाथिको ज्यादती भएको भन्दै घटनामा संलग्न नगर प्रहरीलाई कारबाहीको दायरामा ल्याउन तथा संविधानप्रदत्त प्रेसको अधिकारको ख्याल गरी आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न र जफत गरिएका सामाग्री फिर्ता गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

