इलाम-२ मा चुनाव र उम्मेदवारको चर्चा शुरु

इलाम, १७ फागुन । संविधान सभाका अध्यक्ष एवं नेकपा एमालेका तत्कालीन उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्र इलाम-२ मा निर्वाचन आयोगले उपनिर्वाचनको मिति तोकेसँगै दलहरू चुनावी अभियानमा जुटेका छन् ।
एकातिर सामरिक महत्त्वको क्षेत्र र अर्कोतिर चुनावी परिणामले दलहरूको शक्ति मापन पनि हुनेभएकोले यो क्षेत्रमा दलहरूको चासो बढेको हो । पुराना र ठुला भनिएका दलदेखी नयाँ दल र पहिचान पक्षधर भनिएका नेताहरु बीच चुनावी सरगर्मी बढ्नु स्वभाविक हो।
२०७९ मंसिर ४ को चुनाव जितेको नेकपा एमाले र मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस सहित नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरू टिकटका लागि आफ्नो नजिक रहेका नेता भेट्न दौडधुपमा लागेका छन् । कोही नेता काठमाडौ सम्म धाउन थालेका छन् ।
इलाम-२ मा निर्वाचन आयोगले आगामी वैशाख १५ गते शनिबार उपनिर्वाचन गर्ने भनेर कार्यतालिका समेत सार्बजनिक गरिसकेको छ । यहाँ गत चुनावमा सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेसले उम्मेदवार उठाएको थियो। तर,यसपटक गठबन्धनका आ-आफ्नै उम्मेदवार हुने देखिएको छ। त्यो बाहेक पहिले जितेको नेकपा एमाले अनि पहिचान पक्षधर र राष्ट्रिय स्वतन्त्र पार्टी,राप्रपा पनि प्रतिस्पर्धामा उत्रने तयारीमा देखिन्छन् ।
गत चुनावमा सुभाष नेम्वाङले नेपाली कांग्रेसका डम्बर खड्कालाई एक सय १४ मतले चुनाव हराएका थिए। नेम्वाङको गत भदौ २६ गते निधन भएपछि यहाँ उपचुनाव हुन लागेको हो। यसपटक एमालेबाट भने सुभाष नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले टिकट पाउने चर्चा छ। थियो । नेपाली कांग्रेसका तर्फबाट भने जिल्ला सभापति समेत रहेका र बिगतमा हारेका डम्बर खड्का मुख्य दावेदार मानिन्छन् ।त्यसैगरी महासमिति सदस्य भेषराज आचार्य, पूर्वजिल्ला सभापति तथा पूर्वसांसद केशव थापा र नगेन्द्र कुमालको नाम पनि चर्चामा ल्याउन थालेका छन् ।
एमालेबाट स्व.नेम्वाङका कान्छा छोरा सुहाङ सहित जिल्ला सचिव उमेश गुरुङ, उपसचिव रवीन्द्र सुवेदी र नेम्वाङकै निजि सचीव बुद्धि खनाल मध्यबाट टिकट पाउने चर्चा छ।
उता माओवादी केन्द्रका तर्फबाट प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ र जिल्ला इन्चार्ज कुलप्रसाद लिम्बू मुख्य दावेदार देखिन्छन् ।नेकपा (एकीकृत समाजवादी) का तर्फबाट भने इलाम-१ बाट पराजित भएका पुर्व प्रधानमन्त्री झलनाथ खनालको नाम अगाडी आउन सक्ने देखिन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने संचारकर्मी रमेश प्रसाईं लाई अगाडि सार्ने चर्चा छ। यद्यपि रास्वपाले इलामको अवस्था बुझ्न सहमहामन्त्री एवं संगठन बिभाग प्रमुख कबिन्द्र बुर्लाकोटीलाई जिम्मेवारी दिएर त्यता पठाएको छ। उता कोशी प्रदेश नामाकरणको बिरोधमा संघर्ष गरिरहेका पहिचान पक्षधरले पनि यसपटक इलाम-२ मा उम्मेदवारी दिने तयारी गरेको छ। यदि उनीहरुको छुट्टै उम्मेदवार भएमा सबैजसो दलको भोट यताउता हुनसक्छ र प्रतिस्पर्धामा धेरै उम्मेदवार देखिन सक्छन् ।

