त्रिदेशीय टी-२० श्रृंखलामा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

काठमाडौं, १६ फागुन । काठमाडौंमा जारी नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय टी-२० श्रृंखलाको दोस्रो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै छ । त्रिवि क्रिकेट मैदानमा हुने खेल विहान साढे ११ बजेदेखि सुरु हुने छ ।
यसअघि मङ्गलबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । जान निकोल लफ्टी इटनले कीर्तिमानी शतक बनाएपछि नामिबियाले २०६ रनको विशाल योगफल खडा गरेको थियो जसको जवाफमा नेपाल एक ओभर अगावै १८६ रनमा अलआउट भयो ।
आइसिसी क्रिकेट विश्वकप लिग-२ को श्रृंखला सकिएसँगै यिनै तीन टोलीले आउँदै गरेको टी२० विश्वकपको तयारी स्वरुप टी२० श्रृंखला खेल्न लागेका हुन् । आगामी जुनमा हुने टी२० विश्वकपमा नामिबिया र नेदरल्यान्ड्स पनि खेल्दैछन् । नेपाल र नेदरल्यान्ड्स एकै समूहमा समेत रहेका छन् ।
राउन्ड रोबिनका आधारमा खेलाइने यस श्रृंखलामा प्रत्येक टोलीले एकअर्कासँग २ खेल खेल्ने छन् । तीन टोलीमध्ये शीर्ष २ ले आगामी मङ्गलबार हुने फाइनल खेल्ने छन् ।

