त्रिदेशीय टी-२० श्रृंखला: नेपाल नामिबियासँग २० रनले पराजित

काठमाडौं, १५ फागुन । काठमाडौंमा मङ्गलबारदेखि सुरु भएको नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय टी२० श्रृंखलाको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाललाई नामिबियाले २० रनले हराएको हो ।
नामिबियाले दिएको रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभर खेलेर १८६ रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४८ रन बनाए । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ४२, कुशल मल्लले ३२ तथा सोमपाल कामीले रन बनाए ।
नामिबियाका लागि रुबेन ट्रम्पलमेनले ३.५ ओभरमा २९ रन दिएर ४ विकेट लिए । त्यस्तै जान फ्रायलिन्क, जान निकोल लफ्टी इटन र बर्नार्ड स्कोल्जले २-२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो । नामिबियाका जान निकोल लफ्टी इटनले शानदार शतकीय पारी खेले । उनले केवल ३६ बलमा १०१ रन बनाएर २०औं ओभरको दोस्रो बलमा आउट भए । त्यस्तै मलान क्रुगरले अविजित ५९ रन बनाए ।
नेपालका लागि कप्तान रोहित पौडेलले ४ ओभरमा ३० रन दिएर २ विकेट लिए । त्यस्तै अविनाश बोहरा र करण केसीले १-१ विकेट लिए ।
आइसिसी क्रिकेट विश्वकप लिग-२ को श्रृंखला सकिएसँगै तीन टोलीले आउँदै गरेको टी२० विश्वकपको तयारी स्वरुप टी२० श्रृंखला खेल्न लागेका हुन् । आगामी जुनमा हुने टी२० विश्वकपमा नामिबिया र नेदरल्यान्ड्स पनि खेल्दैछन् र नेपाल र नेदरल्यान्ड्स एकै समूहमा समेत रहेका छन् ।
प्रत्येक टोलीले एकअर्कासँग २ खेल खेल्ने छन् । तीन टोलीमध्ये शीर्ष २ ले आगामी मङ्गलबार हुने फाइनल खेल्ने छन् ।

