प्रसुति गृहबाट बालिका चोरेको आरोपमा ३ जना पक्राउ

काठमाडौं, १२ फागुन । काठमाडौंको थापाथलीस्थित प्रसूति गृहबाट शुक्रबार दिउँसो बालिका चोरी गरेर भाग्ने एक महिला सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा सिंहसहित अन्य दुई जना छन् ।
उनीहरुलाई शुक्राबार राति ११:४५ बजे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काँडाघारीबाट बालिकाको उद्दार र आरोपिलाई पक्राउ गरेको थियो।
विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि मनीषाले बालिकाको चोरी गरेको बुझिएको छ। गृहबाट बालिकाको चोरी घरेपछि आधा बाटोमा उनकी दिदीसमेत बालिका लिन पुगेकी थिइन् । बालिका लिएर गएपछि छिमेकी तथा आफन्तलाई सुत्केरी भएको जानकारीसमेत गराइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पक्राउ पर्नेमा महिलाकी दिदी र श्रीमानसमेत छन् । मनीषाका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको समेत बुझिएको छ।
बालिकाको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार गरी बालिकाको परिवारको जिम्मा लगाइएको छ । काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठको बच्चा शुक्रबार अपरिचित महिलाले चोरेर भागेकी थिइन् ।

