नेदरल्यान्ड्समाथि नामिबियाको रोमाञ्चक जीत

काठमाडौं, ११ फागुन । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक श्रृंखलामा नामिबियाले तेस्रो जीत हासिल गरेको छ । नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले हराएको हो ।
नामिबियाले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स सात बल अगावै १७९ रनमा समेटियो । उसका लागि नोहा क्रोश ४६ रनमा अविजित रहे पनि अर्को एन्डबाट विकेट गइरहँदा टोलीलाई जीत दिलाउन असमर्थ रहे । १६८-६ को अवस्थाबाट ११ रनमा ४ विकेट गुमाेपछि जीतको आधार तय गराएका क्रोश एक्लै अर्को एन्डमा नटआउट रहन पुगे । त्यसअघि म्याक्स ओडाउडले ४१ तथा बास डे लिडेले २४ रन बनाए ।
नामिबियाका कप्तान जेरार्ड इरासमसले ९ ओभरमा ३३ रन दिएर ३ विकेट लिए । जान फ्रायलिन्कले ५.५ ओभरमा २२ रन दिएर ३ विकेट लिए । त्यस्तै बर्नार्ड स्कोल्जले ९ ओभरमा १५ रन दिएर २ विकेट लिए । रुबेन ट्रम्पलमेन र जान निकोलले १-१ विकेट लिए ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले नेदरल्यान्ड्सलाई ४५ ओभरमा २०४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । चिसो मैदानका कारण ढिला सुरु भएको खेल ४५ ओभरमा छोट्याइएको थियो । नामिबियाले ४१.३ ओभरमा अलआउट हुँदै २०३ रन बनायो । उसका लागि जान निकोल लफ्टी इटनले सर्वाधिक ४९ रन बनाए । रनआउट हुनुअगाडि उनले ४३ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै ओपनर मलान क्रुगरले ३९ रन बनाउँदा जान फ्रायलिंकले ३४ रुबेन ट्रम्पलमेनले अविजित २३ तथा जेन ग्रिनले २२ रन बनाए । नेदरल्यान्ड्सका भिभियन किङ्माले ६.३ ओभरमा १९ रन बनाएर ३ विकेट लिए । त्यस्तै आर्यन दत्तले ९ ओभरमा ४१ रन दिएर २ विकेट लिए । रोलफ भान डेर मरवेले ९ ओभरमा ३३ रन दिएर २ विकेट लिए । शरिज अहमद र बास डे लिडेले १-१ विकेट लिए ।
यस जीतसँगै नामिबियाले ४ खेलमा ६ अंक जोडेको छ । अब श्रृंखलाको अन्तिम खेलमा आइतबार नेपाल र नेदरल्यान्ड्स खेल्ने छन् ।

