माओवादीले चैत्र १ गतेदेखि तराईमा अभियान चलाउने

काठमाडौं ११ फागुन। सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले चैत्र १ गतेदेखि तराई-मधेस जागरण अभियान सञ्चालन गर्ने भएको छ ।
पार्टीको स्थायी कमिटी बैठकले सो निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले बताए। बैठकमा अभियानको वर्गीकरण र मूल्यांकन, आउँदो अभियानको तयारी, संगठनात्मक कार्यविभाजन, विभिन्न विभागबारे सुदूरपश्चिममा दलको नेताबारे एजेन्डामा छलफल भएको पनि प्रवक्ता सापकोटाले जानकारी दिए ।
उनले बैठकमा माओवादी विशेष रूपान्तरण अभियानका क्रममा धेरै खट्नेलाई सम्मानपत्र दिने र काम नगर्नेलाई कारबाही गर्ने निर्णय भएको जानकारी दिए । धेरै राम्रो काम गर्ने र काम नगर्नेहरूको नाम शुक्रबारको बैठकपछि सार्वजनिक गर्ने बताए । चैत्रपछि तीन वटा अभियान चलाउने पनि उनले बताए ।
उनले सुदूरपश्चिममा दल नेताको विवाद र मधेसमा पनि विश्वासको मत बारेमा पार्टीमा समस्या रहेको बताए। त्यसैगरी मधेस प्रदेशको सिरहामा पनि पार्टी भित्र लफडा रहेको माओवादी भनाइ छ।
प्रबक्ता सापकोटाका अनुसार इतिहासमै पहिलो पटक पार्टीले कामको आधारमा मूल्यांकन गरेको र त्यसमा सबैभन्दा बढी खट्ने, ७५ प्रतिशत सम्म खट्ने, ५० देखि ७५ सम्म खट्ने गरी चार क्याटोगरीमा बाँडेको छ। त्यसको मुल्यांकन सहित आज शुक्रबार थप छलफल र कुन प्रदेशले कति दिन खट्यो, उत्कृष्ट कोको भए भन्नेकुरामा छलफल हुनेछ।
प्रवक्ता सापकोटाले गठबन्धनबारे नेपाली कांग्रेसको महासमिति बैठकमा भएको बिषय र उसको आगामी भूमिकालाई हेरेर अघि बढ्ने समेत बताए। कांग्रेसको बिहिवार सम्पन्न महासमिति बैठकमा गठबन्धन बारे पक्ष विपक्ष भएर छलफल भएको थियो। तर,निर्णय भने गठबन्धन हाललाई कायम राख्ने तर आगामी निर्वाचनमा नगर्ने भन्ने मत बलियो छ।

