लिग २ क्रिकेट: नामिबिया र नेदरल्यान्ड्स खेल्दै

काठमाडौं, ११ फागुन । आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आज पाँचौं खेल हुँदैछ । जसअन्तर्गत आज दुई पाहुना टोली नामिबिया र नेदरल्यान्ड्स दोस्रोपटक आमनेसामने हुँदै छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार विहान साढे ९ बजेदेखि सुरु हुनेछ । खेलको डिशहोम एक्सन स्पोर्ट्स च्यानलमा तथा डिशहोम गो मार्फत प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ ।
नामिबियाको कप्तानी जेरार्ड इरासमसले गर्ने छन् भने नेदरल्यान्ड्सको कप्तानी स्कट एडवार्ड्सले गर्ने छन् । हालसम्म खेलेका दुई मात्र एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेदरल्यान्ड्सले दुवैपटक नै बाजी मारेको छ । पछिल्लोपटक उनीहरु गत सोमबार भिडेका थिए जसमा आर्यन दत्तको ६ विकेटमा नामिबिया सस्तैमा समेटिँदै नेदरल्यान्ड्स विजयी भएको थियो ।
लिग २ अन्तर्गत यस श्रृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । त्यस्तै शनिबार भएको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो । त्यसपछि बुधबार भएको खेलमा नामिबियाले नेपाललाई पुनः पराजित गर्दै ३ खेलमा ४ अंक जोडेको छ ।
नेपालले आफ्नो अन्तिम खेलमा आइतबार नेदरल्यान्ड्ससँग खेल्ने छ ।

