त्रिवि उपकुलपति: बुढाथोकीले बधाई खाए तर,बराल नियुक्त !

काठमाडौं,१० फागुन । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा.केशरजंग बराल नियुक्त भएका छन् ।
मुलुककै जेठो र सबैभन्दा धेरै विद्यार्थीको भार थेगिरहेको त्रिभुवन विश्वविद्यालयमा डा.बराल सहित ४३ जनाले निवेदन दिएका थिए। निवेदन दिएका मध्य १४ जना सर्टलिष्ट र त्यसबाट पनि ३ जना सिफारिस भएका थिए।
बिहिवार दिनभर सिफारिस भएका अर्का उम्मेदवार चित्रबहादुर बुढाथोकीले बधाई खाइरहेका थिए। तर,बेलुकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुलपतिको हैसियतमा पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति समेत रहेका बराललाई नियुक्ति दिए।
त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भागबन्डा नहुने दोहोर्याइरहेका प्रधानमन्त्री प्रचण्डले अन्ततः नेकपा माओवादी केन्द्र निकटका डा.बराललाई नै नियुक्ति दिए। बुढाथोकी पनि माओवादी निकट नै हुन् । उनलाई प्रधानमन्त्री प्रचण्डका नजिकका केही ब्यक्तिले नियुक्ति हुन नदिने अडान राखेका थिए। त्यसैले बुढाथोकीको पक्षमा रहेकाले बधाई दिइरहेपनी अन्ततः नियुक्ति भने बरालले पाए।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो । तीन मध्य धमला नेकपा एमाले निकट मानिन्छन् ।

