कांग्रेस महासमिति बैठक : गठबन्धनको कुरा धेरै, जनताका मुद्दामा चुपचाप !

प्रतीक भट्ट
तस्बिर : माधवप्रसाद घिमिरे/रासस

काठमाडौ,१० फागुन। नेपाली कांग्रेसको ४ दिनदेखि गोदावरीमा जारी महासमिति बैठकमा ‘गठबन्धन’ को बेमौसमी बाजा धेरै बज्यो। जहाँ गठबन्धनको कुरामा सबैले प्यार्-प्यार गरे तर,जनताका जटिल कुरा ओझेलमा पारिए।

कसैसँग चुनावी गठबन्धन गर्ने कि नगर्ने ? भन्ने कुरा समय परिस्थिति अनुसार निर्णय गरे हुने बिषयमा धेरै समय खर्च भयो। अबको कांग्रेस हाँक्ने भनिएका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिबेदनमा समेत गठबन्धनका लागि धेरै शब्द खर्च भएको देखियो । जहाँ कांग्रेसको अबको बाटो र जनताका समस्या अनि देशको राजनीतिक जटिलता बारे केही दमदार कुरा आउने अपेक्षा गरिएको थियो।तर, आएन।

आफू ठूलो दल भएर पनि तेस्रो दलको नेतृत्वमा सरकारमा सहभागी हुँदा कांग्रेसलाई नागरिकका मुद्दा उठाउन झन् सहज हुनुपर्ने हो। सरकारको गतिविधिबाट जनता खुशी छैनन् । प्रधानमन्त्री र गृहमन्त्री माओवादीको भएका कारण जनताको मुद्दामा धेरथोर उनीहरुको पनि चासो हुनुपर्ने हो। तर,कांग्रेसले पाएको जनमतलाई आधार मान्ने हो भने धेरैले अझैपनी कांग्रेस सँगै अपेक्षा र भरोसा गरेको देखिन्छ । त्यसैले अनि जनतामा बढ्दै गएको निरासा र गुनासो सम्बोधन गर्न कांग्रेस महासमिति बैठकले केही बोल्ने अपेक्षा गरिएको थियो।

देशभरका कांग्रेस कार्यकर्ताले चुनेर पठाइएका महासमिति सदस्य भनेका बर्तमान र भविष्य सम्मका जल्दाबल्दा नेता हुन् । महासमिति बैठक भनेको नीति बनाउने ठाउँ पनि हो । यो सामान्य कार्यकर्ता वा क्रीयाशिल सदस्य मात्रैको जमघट होइन। यस्तो मौकामा जनअपेक्षा अनुसारको छलफल र निर्णय लिनुपर्ने हो। अझै कतिपय महासमिति सदस्य हाल स्थानीय सरकार,प्रदेश सरकार र संघीय सरकार चलाइरहेका नेता छन् । जसलाई देशको अवस्था कस्तो छ ? जनताको समस्या के हो ? जनता के चाहिरहेका छन्  ? सबैकुरा जानकारी छ।

महासमिति बैठकमा नागरिकले भरोसा गरेका नेताहरू धनराज गुरुङ,गगन थापा,बिश्वप्रकाश शर्मा,बद्री पाण्डे,प्रदिप पौडेल लगायत २ हजार नेता सहभागी छन् । तर,नागरिक मुद्दामा यिनको पनि चासो किन गएन ? यो जटिल र संबेदनसिल प्रश्न हो ।

खासगरी बैठकमा पार्टी,देश र जनता केन्द्रित बहस र छलफल हुनुपर्नेमा सत्ता,शक्ति र गठबन्धन चाहिने वा नचाहिने ?भन्नेमा सिङ्गो बैठक हल रुमल्लिएको देखियो। प्रस्तुत भएका प्रतिवेदनमा पनि गठबन्धन भन्ने शब्दमा धेरैले पक्ष विपक्ष भएर छलफल गरे। जुन अहिलेको जल्दोबल्दो बिषय नै होइन। त्यसमाथि यो बिषयले महासमिति बैठक हल नै विभाजित भएपछि त्यहाँबाट निस्केर गएपछि इकाइ,क्षेत्र,जिल्ला, प्रदेश र केन्द्रसम्म त्यसको बाछिटा पक्कै देखिने छ। पार्टी रुपान्तरणको लागि यो अझै डरलाग्दो र भयानक हुनसक्छ । रालागी

देशमा अहिले सरकारले काम गर्न सकेन भन्ने जमात बढ्दो छ। बिपक्षी दल मात्रै होइन जनताले समेत प्रश्न उठाउन थालेका छन् । संसदको ठूलो दल हुनुको नाताले देशको आर्थिक मन्दी, भ्रष्टाचार, लघुबित्त र सहकारी ठगी, मिटरब्याजपीडितका मुद्दा  जस्ता बिषयमा कांग्रेस महासमिति बैठकमा छलफल हुनुपर्थ्यो।

नागरिक मुद्दामा बढी केन्द्रित हुनुपर्ने सभापति लगायत उपसभापति र महामन्त्रीद्वयका प्रस्तावहरु सत्ता र शक्तिमा मात्रै केन्द्रित हुनु दु:खद हो। यसले कांग्रेसप्रतिको बिश्वास र भरोसा अनि जनमत माथी भद्दा मजाक गरेको प्रष्ट हुन्छ। पार्टीको बैचारिक कुरामा समेत गुटबन्दी र पक्ष विपक्ष भएर छलफल गर्दा त्यसको रिजल्ट कस्तो आउला ?

यसर्थ आज अन्तिम दिनमा भएपनि नागरिक मुद्दालाई सम्बोधन हुनेगरी कांग्रेसले बैठक टुंगोमा पुर्‍याउने छ भन्ने अपेक्षा अझै गरौं । बैठकपछि पनि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको बिचमा तिक्तता नहोस् । बैठकले गरेका निर्णयका कारण गठबन्धन भत्किन्छ वा भत्किन्न भन्ने बिषयमा प्रधानमन्त्री प्रचण्ड र पुर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई बिश्वास दिलाउन सभापति दौडन नपरोस् । अनि सत्ता र शक्ति भन्दा बढी नागरिक मुद्दामा लड्ने प्रण पनि सिङ्गो कांग्रेसले गरोस् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय