कप्तान इरास्मसको अर्धशतकमा नेपालमाथि नामिबियाको जीत

काठमाडौं, ९ फागुन । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नामिबियाले नेपाललाई २ विकेटले हराएको हो ।
नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । नामिबियाका लागि कप्तान जेरार्ड इरास्मसले ५२ रनको अर्धशतकीय पारी खेले । त्यस्तै माइकल भान लिनजेनले ३१ रन बनाउँदा जेजे स्मिट ३४ रनमा अविजित रहे । नेपालका कुशल भुर्तेलले ३ विकेट लिँदा दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, ललित राजवंशी र कुशल मल्लले १-१ विकेट हात पारे ।
त्यसअघि कीर्तिपुरमा त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नामिबियालाई १६९ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ३७.१ ओभरमा अलआउट हुँदै १६८ रन बनायो । नेपालका लागि ओपनर आसिफ शेखले ६४ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ५८ रन बनाए । त्यस्तै कुशल मल्लले ३६ रन बनाउँदा भीम सार्कीले २६ रनको योगदान दिए ।
अर्का ओपनर कुशल भुर्तेल १८ रनमा पेभेलियन फर्किँदा करण केसीले १२, दीपेन्द्रसिंह ऐरीले ६, सोमपाल कामीले ४ रन बनाए । कप्तान रोहित पौडेल, अनिल शाह र देव खनालले खाता नै खोल्न सकेनन् । नामिबियाका बर्नार्ड स्कोल्जले १० ओभरमा २ मेडनसहित ३१ रन दिएर ४ विकेट लिए । त्यस्तै जान निकोल लफ्टी इटनले ६.१ ओभरमा ३४ रन दिएर ४ विकेट लिए । कप्तान जेरार्ड इरासमस र ज्याक ब्रासेलले १-१ विकेट लिए ।
नेपालले अब आफ्नो अन्तिम खेल आइतबार नेदरल्यान्ड्ससँग खेल्ने छ ।

