नेपाल र नामिबियाबीचको खेलमा वर्षा बाधक बन्न सक्ने !

काठमाडौं, ३ फागुन । आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले बुधबार नामिबियासँग खेल्दै छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार विहान सवा ९ बजेदेखि सुरु हुने तालिका छ । यद्यपि उक्त खेलमा वर्षा बाधक बन्न सक्ने उच्च सम्भावना रहेको छ । आजदेखि तिन दिन नेपालको अधिकांश भूभागमा बदली भएर वर्षाको सम्भावना रहेकाले खेल वर्षाले बिथोल्न सक्ने छ ।
मौसमविदका अनुसार सोमबार रातिदेखि नै नेपालमा एकखालको प्रणाली भित्रिएको छ जसले गर्दा आगामी तीन दिन नेपालका धेरै स्थानमा वर्षाको सम्भावना छ । विशेषगरी आज मङ्गलबार पश्चिम नेपाल तथा मध्यरातिदेखि देशभर नै वर्षाको सम्भावना छ । मध्यम खालको वर्षा हुने भएकाले यसले नेपाल र नामिबियाबीचको खेलमा असर पर्ने देखिएको छ ।
काठमाडौंमा बुधबार राम्रै वर्षा हुने मौसमविद उज्जवल उपाध्यायको भनाइ छ । यदि रातिदेखि नै पानी परेको खण्डमा नेपालको खेल सुरु हुनमै ढिलाई हुनेछ जसले गर्दा ओभर घट्न सक्ने छ भने खेल सुरु भइसकेपछि वर्षा भएमा त्यसले खेल नै रद्द गराउने सम्भावना रहन्छ । वर्षा कति समयसम्म रहन्छ भन्ने कुराले पनि खेलको निर्धारण गर्ने छ ।
नेपालले हालसम्म खेलेका २ मध्ये एक खेल जितेको छ । नामिबियासँग पराजित भएको नेपालले त्यसपछि नेदरल्यान्ड्सलाई हराएको थियो । नामिबिया भने हिजो नेदरल्यान्ड्ससँग पराजित हुन पुग्यो जसले गर्दा एक चरण सकिँदा सबै टोली १ जित र १ हारसहित २-२ अंकमा छन् ।
नेपालले अन्तिम खेल भने आइतबार नेदरल्यान्ड्ससँग खेल्ने छ ।

