महासमिति बैठक र हाम्रो अपेक्षा

नानु दाहाल

आज प्रजातन्त्र दिवस । आजभन्दा ७३ बर्ष अगाडी  २००७ साल फागुन ७ मा नेपाली जनताले राणा शासनको कालोदिनबाट मुक्त भै प्रजातन्त्रको उज्यालो देख्न पाएको दिन। त्यसैको जगमा उभिएर देशमा थुप्रैपटक परिवर्तनका आन्दोलन भए । जसको उपलब्धि अहिलेको लोकतान्त्रिक गणतन्त्र हो।

संयोग नै भनौं राणा शासन विरुद्ध लडेर आएको नेपाली कांग्रेसको महासमिति बैठक पनि आजैका दिन सुरु हुँदैछ। राणा शासन विरुद्ध,पन्चायत विरुद्ध र अरु थुप्रै अतिवाद विरुद्ध लडेको नेपाली कांग्रेस आजपनि देशको सबैभन्दा ठूलो पार्टी हो। नेपाली जनताको आशा र भरोसा पनि नेपाली कांग्रेससँगै बढी छ। कांग्रेसले लिने कतिपय निर्णयले आम नेताकार्यकर्ता र जनताको लागि आशाको सञ्चार हुने गर्दछ।

एकतन्त्रीय जहानीय राणा शासन र निर्दलीय पन्चायत विरुद्धको आन्दोलन होस् वा जनयुद्धको नाममा भएको हिंसा अनि बेलाबखत देखिने उच्छृङ्खल र अराजक  तत्वको गतिविधिमा  नेपाली कांग्रेसले सधै डटेर आएको जगजाहेर नै छ। प्रजातन्त्रको रक्षादेखि लोकतान्त्रिक गणतन्त्र स्थापना सम्म नेपाली कांग्रेसका थुप्रै नेताकार्यकर्ताले  बलिदान दिएको इतिहास पनि हामी सामु छर्लङ्ग छ।  राणाले झुन्ड्याएर फाँसी दिने देखि पन्चायतले गोली ठोक्ने र जनयुद्धको नाममा घाँटी काटिने अधिकांश नेताकार्यकर्ता कांग्रेसकै थिए।

आजको दिनसम्म आइपुग्दा नेपाली कांग्रेसका संस्थापकदेखि हालसम्मको नेतृत्वले गरेको दु:ख र लगानीले यो पार्टी जनताको प्रीय पार्टी बन्न सकेको हो। पुरानो पुस्ताले छाडेर गएको जिम्मेवारी पूरा गर्नु आजको हाम्रो पुस्ताको कर्तव्य पनि हो। त्यसैले यो पार्टीलाई हिजो भन्दा आज र आजभन्दा भोलि झन्-झन् मजबुत र एकताबद्ध बनाइ जनताको बिचमा लोकप्रिय र चलायमान बनाउनु आम नेताकार्यकर्ताको जिम्मेवारी हो। गोदावरीको साइन सम्मेलन केन्द्रको हलमा जम्मा हुने झन्डै २ हजार ५ सय सहभागीले के निर्णय गर्छन् भन्ने चासो सबैलाई छ।

कम्युनिस्टहरु सँगको गठबन्धन,पार्टीको आन्तरिक गडबडी,जनताको दैनिकीसँग जोडिएको समस्या र कांग्रेसको भोलिको भविस्यको खोजी गर्न आज हामी महासमिति बैठकमा जुटेका छौं । हाम्रो पार्टीको लागि मात्रै नभएर सिङ्गो नेपाली जनताको लागि यो महासमिति बैठकमा हुने छलफल र यसले लिने निर्णय एउटा कोशेढुङ्गा हुनुपर्ने छ। यतिबेला हाम्रो महासमिति बैठकलाई लिएर राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत चासो लिइएको छ। साथै पार्टीको आन्तरिक जिवनमा पनि यसले निकै ठूलो प्रभाव पार्ने देखिन्छ।

जसरी प्रजातन्त्र वा लोकतन्त्रको विकल्प उन्नत प्रजातन्त्र वा लोकतन्त्र नै हो भनिन्छ त्यसरी नै कांग्रेसको बिकल्प रुपान्तरण सहितको कांग्रेस नै हो । हामीले कांग्रेसको बिकल्प कांग्रेस भन्दा बाहिर गएर खोज्ने वा कम्युनिस्टसंग मिलेर खोज्ने होइन। क्षणिक कुनै मुद्दामा एक ठाउँमा उभिनुपर्ने अवस्था भएपनी सधैं र सबै कुरामा एक ठाउँ रहनुले एक अर्काको अस्तित्व मेटाउन पनि सक्छ।कहिलेकाहीँ क्षणिक स्वार्थ मिलेपनी कम्युनिस्ट र कांग्रेसको चरीत्र कुनै पनि हिसाबले मिल्दैन। जसरी कोदो र तोरी हेर्दा उस्तै देखिन्छ तर त्यसले दिने स्वाद र शक्ति फरक-फरक हो भन्ने हामीले बुझ्नुपर्छ ।

कोदो र तोरी दुबै खानेकुरा हो । तर,त्यसलाई एकैठाउँमा राखेर पिस्न खोजियो भने न तेल बन्छ न पिठो ! अर्थात त्यसको न तेल घस्न मिल्छ न ढींडो खान मिल्छ।त्यसले दिने पोषण र शक्ति दुबै नाश भएर निरर्थक बनिदिन्छ। त्यसैले चुनाव अगाडी गरिने गठबन्धनका बारेमा बिचार बिमर्श हुन जरुरी छ। चुनावी परिणाम पछि एक्लै सरकार बनाउने अवस्था नहुदा गठबन्धन गर्नु एउटा कुरा हुनसक्छ तर,चुनाव जित्नकै लागि ‘लाल सलाम’ गर्दै हिंड्नुपर्छ र ? यसले कांग्रेसका आम नेताकार्यकर्ताको मनोबल उच्च बनएको छैन ।यसबारे महासमिति बैठकले नै केही छिनोफानो गरोस् भन्ने हाम्रो अपेक्षा छ।

कम्युनिस्टसँग जुन हाम्रो गठबन्धन अगाडी बढिरहेको छ, के यसले साच्चिकै उचित परिणाम दिएको छ त ? हामीले कम्युनिस्टलाई भोट दिएर जिताएको स्थानीय पालिका वा प्रदेश र संघीय सरकारमा हाम्रो कति प्रतिशत काम भएको छ त ? अर्थात जनताले कांग्रेसले गरेको काम यो हो भनेर कसरी बुझ्ने ? संघीय सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । हुन त सरकारमा हाम्रो पनि मन्त्रीज्युहरु हुनुहुन्छ तर, राम्रो काम भए माओवादीले त्यसको जस लिने र नराम्रो काम भए जनतामा हामी बद्नाम हुने अवस्था छ नि होइन र ? यस बिषयमा पनि महासमिति बैठकमा छलफल होस् भन्ने हाम्रो पार्टीको नेताकार्यकर्ताको मात्रै होइन जनताको समेत चाहना छ।

अर्कोकुरा यो महासमिति बैठकले पार्टी भित्र आन्तरिक लोकतन्त्र बलियो बनाउने एवं  स्वच्छ र स्वस्थ प्रतिस्पर्धाको आधारमा सबैले अवसर पाउने गरी केही नितिगत सुधार पनि गरोस् भन्ने हाम्रो अपेक्षा हो। जस्तैःपार्टी नेताकार्यकर्ताको कामको मुल्यांकन कुनै ब्यक्ति बिशेषले होइन पार्टीको कुनै स्वतन्त्र निकायले गरोस् ।कुनै क्रियाशील सदस्य वा त्यसभन्दा माथी इकाइ,क्षेत्र,जिल्ला वा प्रदेश र केन्द्रिय समितिका पदाधिकारी र सदस्यको कामको सहि र न्यायोचित मुल्यांकन हुनुपर्छ ।

त्यसैगरी महासमिति सदस्य निर्वाचित हुँदा क्षेत्र,जिल्ला,प्रदेश र केन्द्रमा हुने नेतृत्व समेत प्रतिनिधि मार्फत चुनिएर मात्रै जाने गरि ब्यबस्था गर्दा अझै लोकतान्त्रिक र ब्यबहारिक हुने हो कि ? कतिपय ठाउँमा महासमिति सदस्यको निर्वाचन समयमै हुन नसक्नु वा भएका ठाउँमा विवाद देखिनु दु:खद हो। यसलाई लोकतान्त्रिक पद्धतिबाट सबैको अपनत्व हुनेगरी बिधि बनाउदा हामीलाई सजिलो हुनेछ।

अर्कोकुरा एक जना ब्यक्ति कति समय नेतृत्वमा रहने,सांसद हुने,मन्त्री र प्रधानमन्त्री हुने हो वा उमेर हद लाग्ने कि नलाग्ने ? भन्ने कुराको बहस पनि अब सुरु गर्नुपर्छ। जब ६८ बर्ष पुगेपछि राज्यको निति अनुसार ब्यक्ति वृद्ध वा जेष्ठ नागरिक हुने र उसलाई जेष्ठ नागरिक भत्ता (वृद्ध भत्ता) दिइन्छ भने राजनीतिमा चाहिँ कोहि कहिल्यै वृद्ध नहुने हो र ? यसको मत्लब अब त्यस तर्फपनी हामीले बैज्ञानिक हिसाबले सोच्ने बेला भयो कि ? यदि त्यसो गर्न सकिन्न भने उमेरको आधारमा पार्टीका समितिहरुमा प्रतिनिधित्व गराउन पनि सकिन्छ।

जस्तै : ५० बर्ष माथिको र ५० बर्ष भन्दा तल वा त्यस्तै कुनै उमेर समुहको आधारमा पार्टीको क्षेत्र,जिल्ला,प्रदेश र केन्द्रिय समितिमा प्रतिनिधित्व हुने भनियो भने पार्टीमा सबैले आफ्नो भविस्य देख्ने र अवसर पाउने कुराको सुनिश्चितता पनि हुने थियो कि ?

अत : यी र यस्तै बिषयमा यो महासमिति बैठक केन्द्रित भएर छलफल हुने अपेक्षा हामीले गरेका छौं । नेपाली जनातको सधैं साथ पाएको नेपाली कांग्रेसले जनताका मुद्दा  कति उठायो वा जनताका मुद्दामा कति संवेदनशिल छ भन्ने कुरा पनि यो महासमिति बैठकपछि देखियोस। युवा विदेशीनुको पीडा,किसानको पीडा,व्यावसायिको कुरा,आर्थिक मन्दीको असर, महँगी,बेरोजगारी,भ्रष्टाचार जस्ता बिषयमा कांग्रेस कहाँ बोल्यो र के बोल्यो भन्ने कुरा जनताले हेरिरहेका छन् । यी सबै सबालमा कांग्रेसले महासमिति बैठकबाट अपेक्षाकृत प्रश्नका उत्तर लिएर बाहिर आउनेछ र हामीले त्यसलाई लिएर जनताको माझमा जानेछौ । जसले गर्दा आगामी दिनमा एक्लै चुनाव लड्ने र एक्लै सरकार गठन गर्नसक्ने कांग्रेस हामीले पाउनेछौ । यसका लागी को-कसले रुपान्तरण हुनुपर्ने हो,कसले त्याग गर्नुपर्ने हो र कसले कुन भुमिका पाउनुपर्ने हो त्यसको निराकरण पनि हल भित्रै खोजियोस । जय नेपाल !!!

(लेखक नेपाली कांग्रेस बागमती प्रदेश समिति सदस्य हुन् )

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...