कांग्रेस महासमिति बैठक आजबाट : ‘हिन्दु राष्ट्र’ एजेन्डा नबन्ने !

काठमाडौं,७ फागुन । नेपाली कांग्रेसको महासमिति बैठक आजदेखी ललितपुरको गोदावरी स्थित सनराइज सम्मेलन केन्द्रको हलमा सुरु हुँदैछ।

दिउसो १ बजे पार्टी सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने महासमिति बैठकमा देशभरका २ हजार १०५ महासमिति सदस्य र अन्य गरि करिब २ हजार ५ सय जना सहभागी हुनेछन् । महासमिति बैठक फागुन १० सम्म चल्नेछ।

महासमिति बैठकमा फागुन ४ गते बसेको केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदित नीति, सांगठनिक, समसामयिक राजनीतिक, नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा परीक्षण प्रतिवेदन पेस हुनेछन् । यसैगरी पुरक प्रस्तावको रुपमा हिन्दु राष्ट्रको लागि अभियान चलाउदै आएका नेता शंकर भण्डारी नेतृत्वको २२ जनाको अर्को प्रस्ताव समेत छलफलका लागि आउने छ। यद्यपि हिन्दु राष्ट्रको एजेण्डा प्रतिवेदनमा समावेश नहुने पार्टी प्रचार बिभागका संयोजक मीन बिश्वकर्मा बताउँछन् ।

महासमिति बैठक प्रचारप्रसार संयोजक समेत रहेका बिश्वकर्माका अनुसार हिन्दु राष्ट्रको एजेण्डा प्रतिवेदनमा समावेश भएर आउने छैन। उनले उक्त प्रस्ताव महासमिति बैठकको एजेण्डा बन्नु  अगाडि बसेको केन्द्रीय समितिको बैठकमा पनि एजेण्डा नबनेको बताए ।

पार्टी केन्द्रिय समिति बैठक अगाडी २२ नेताले उक्त प्रस्ताव सभापति देउवा समक्ष राखेका थिए। तर,सभापतिले छलफल/बहस हुनसक्छ भनेकाले छलफलमा आए पनि ‘हिन्दु राष्ट्र’पार्टीको आधिकारिक प्रतिवेदन नभएको बिश्वकर्माको तर्क छ।

हिन्दु राष्ट्र बनाउनुपर्ने मुद्दा पार्टीले नबोक्ने भन्दै बिश्वकर्माले यो बिषयमा व्यक्ति विशेषले धारणा राख्न पाउने तर आधिकारीक एजेण्डा नहुने दाबी गरे।‘हाम्रो पार्टी जातीय पार्टी होइन, क्षेत्रीय पार्टी होइन, धार्मिक, साम्प्रदायीक पार्टी होइन’ उनले भने-, ‘केन्द्रीय समितिमा जसले यो बिषयमा बोल्नु भएको छ अब महासमिति बैठकमा पनि बोल्नुहुन्छ तर, आधिकारिता पाउँदैनन्।’

को-को छन् सहभागी ?

महासमिति बैठकमा १ सय ६५ केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, १ हजार ७ सय ८० महासमिति सदस्यहरू सहभागी हुने छन् ।

यस्तै नेपाली जनसम्पर्क समितिबाट ८९ जना, भातृ तथा शुभेच्छुक संस्थाहरूबाट ६९ जना, महासमितिका सदस्य नरहेका प्रदेश सभापति, जिल्ला  सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई सहभागी गराइने छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय