अब कम्युनिष्टको पछि लागेर हिँड्न नपरोस् : कोइराला

काठमाडौ,६ फागुन।  नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अब कहिल्यै कम्युनिस्टहरुको पछि लागेर हिड्ने पार्टीको चाहना नभएको भन्दै महासमिति बैठकमा यसबारे खुकेर छलफल गर्न निर्देशन दिएका छन् ।

पार्टी महासमिति बैठक सुरु हुनु एकदिन अघि आइतबार आफ्नो पक्षका नेतालाई भेला गरि डा.कोइरालाले यस्तो बताएका हुन् ।’आगामी निर्वाचनमा कांग्रेसले कम्युनिष्ट पार्टीहरुको पछि लागेर हिँड्न नपर्ने गरी महासमिति बैठकमा छलफल र बहस गरौं ‘-कोइरालाले भने-‘पार्टीको अस्तित्व जोगाउन र जनता एवं कार्यकर्तालाई विश्वास दिलाउन पनि यसमा गम्भीर बहस हुनैपर्छ ।’

डा.कोइरालाले आफैं प्रमुख अतिथि बनेर ‘चियापान कार्यक्रम’ को नाममा भेला गरेपछि पार्टीको संस्थापन पक्ष भने सशंकीत छ। नेता कोइरालाले देशभरिबाट आएका प्रतिनिधि र नेताहरुलाई महासमिति बैठकमा खुलेर कुरा राख्न र कसैको बहकाउमा नपर्न समेत सुझाव दिए।

नेपाली कांग्रेस पार्टी र मुलुकलाई सकारात्मक बाटोमा अघि बढाउने गरी यो महासमिति बैठक निष्कर्षमा पुग्न आवश्यक रहेको भन्दै डा.कोइरालाले पार्टी संगठन निर्माण,भ्रातृसंगठन परिचालन, पार्टी महाधिवेशन समयमै गर्न, निर्वाचन प्रणालीमा सुधार गर्न र बिशेषगरी गठबन्धनका विषयमा नीतिगत स्पष्टता बारे पनि स्पष्ट भएर हलबाट निस्कनुपर्ने बताए।

उनले पछिल्ला निर्वाचनमा कांग्रेसले ७ प्रतिशत भोट गुमाएकोप्रति पार्टीभित्र छलफल नै नभएको भन्दै आक्रोश पोखे । वर्तमान निर्वाचन प्रणालीमा समस्या रहेको र त्यसका बिषयमा महासमिति बैठकले निर्णय गर्नुपर्नेमा पनि उनले जोड दिए ।’हामीहरुको निर्वाचन प्रणाली नै यस्तो प्रकारको छ कि यो निर्वाचन प्रणालीले कुनैपनि दललाई बहुमत दिन सक्दैन । बहुमत आउन पनि सक्दैन । एकातिर हामीहरु संसदीय प्रणाली भन्छौं । अर्कोतिर बहुमतको सरकार हामीले पाउन सक्दैनौं, हुन सक्दैन,’ उनले भने, ‘के निर्वाचन प्रणालीमा हामीले केही परिवर्तन गर्नुपर्छ कि ? भन्नेतिर पनि हामी जानुपर्छ ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय