मन्त्री प्रकाश ज्वालालाई आजै बर्खास्त गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौं, ६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज साँझसम्म मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्ने तयारी गरेका छन् ।

कोरिया भाषा परिक्षाको विषयलाई लिएर दुई जना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनाका दोषीलाई कारबाही गरिने भन्दै प्रधानमन्त्रीले भौतिक पुर्वाधार तथा यातायात मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेको स्रोतले बतायो।

अहिले जारी रहेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदहरुले उक्त घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री दोषी देखिएको भन्दै सरकारको ध्यानाकार्षण गराएपछि प्रधानमन्त्री प्रचण्डले उक्त निर्णय लिन लागेका हुन् । यद्यपि प्रधानमन्त्रीले घटनाको जाचबुझ टोलीले दिएको प्रतिवेदन अनुसार दोषी पाइए कारबाही गर्ने भनेका छन् ।

आजै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक पनि बोलाइएका छन् । आजकै बैठकले मन्त्री ज्वालालाई कारबाही गर्ने संकेत प्रधानमन्त्रीले दिइसकेका छन् । यसबारे नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसंग पनि प्रधानमन्त्रीले कुरा गरेको र अर्को ब्यक्तिको नाम मन्त्रीमा सिफारिस गर्न भनेको स्रोतले बतायो।

‘छानविन समितिले जो प्रतिवेदन ल्याएको छ, गृह मन्त्रालयमा छानविन समितिले बुझाएको छ । आज मैले बुझ्दैछु । प्रधानमन्त्रीको हैसियतले अहिलेसम्म मैले हेरेको छैन । मैले गर्दैछु । आजै क्याविनेट छ । सरकारले बनाएको छानविन समितिले छानविन गरेर ल्याएको प्रतिवेदनको अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ । म यो विश्वास दिलाउन चाहन्छु,’– प्रधानमन्त्री प्रचण्डले संसदमा भनेका छन् ।

गत पुस १३ गते दुई जना युवाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा घटेको घटना छानविनका लागि सरकारले जाँचबुझ आयोग गठन गरेको थियो । उक्त आयोगले घटनाको मुख्य जिम्मेवार व्यक्ति मन्त्री ज्वालानै रहेको प्रतिवेदन गृहमन्त्री नारायणकाजी श्रेष्ठ बुझाइसकेको छ । उच्च अदालतका पूर्व न्यायायधीश शेखर पौडेल नेतृत्वको उक्त जाँचबुझ आयोगले घटनाको मुख्य कारकको रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई औंल्याएको छ । मन्त्री ज्वालाकै असंयमताले यति ठूलो घटना घट्न पुगेको जाँचबुझ आयोगको निश्कर्ष छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय