क्यानडाद्वारा नेपाललाई बलियो लक्ष्य प्रस्तुत

काठमाडौं, २५ माघ । काठमाडौंमा जारी नेपाल र क्यानडाबीचको एकदिवसीय श्रृंखलाअन्तर्गत आज दोस्रो खेल भइरहेको छ । कीर्तिपुरमा जारी खेलमा क्यानडाले नेपाललाई २८६ रनको बलियो लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर हुँदै २८५ रन बनायो । क्यानडाका लागि ओपनर आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए । त्यस्तै अर्का ओपनर नवनीत धलिवालले ४६ रन बनाए । त्यस्तै श्रेयस मोभ्भाले ४० तथा पर्गत सिंहले ३८ रन बनाए ।
क्यानडाले आजको खेलमा उत्कृष्ट सुरुवात गर्दै पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरेको थियो । ३२औं ओभरमा १७९-३ को बलियो अवस्थामा भएर ३०० रन कटाउने लक्षण देखाएको क्यानडाले बीचमा विकेट गुमाएपनि अन्त्यतिर सम्हालिएर बलियो योगफल बनाउन सफल भयो ।
नेपालका लागि कुशल मल्लले १० ओभरमा ५१ रन दिएर २ विकेट लिए । त्यस्तै कप्तान रोहित पौडेलले ८ ओभरमा ३२ रन दिएर २ विकेट लिए । पवन सर्राफ, आकाश चन्द, सूर्य तामाङ, सोमपाल कामीले १-१ विकेट लिए ।

