नेपालद्वारा क्यानडालाई २२५ रनको लक्ष्य

काठमाडौं, २५ माघ । काठमाडौंमा आजदेखि सुरु भएको एकदिवसीय श्रृंखलामा नेपाल र क्यानडा खेलिरहेका छन् । कीर्तिपुरमा जारी खेलमा नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २२४ रन बनायो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६२ रन बनाए । त्यस्तै आरिफ शेखले ३८, सोमपाल कामीले २७ तथा कुशल मल्लले २० रन बनाए । अन्य ब्याटरबाट उल्लेख्य योगदान हुन सकेन ।
कुनै समय १९औं ओभरमा ९८-२ को अवस्थामा रहेको नेपालले त्यसपछि लगातार रुपमा विकेट गुमाएको थियो । कुशल भुर्तेल ६२ रनमा साद बिन जफरको बलमा स्टम्प्ड आउट भएपछि नेपालको विकेट पतन सुरु भएको थियो । त्यसपछि नेपालले १०८ मा चौथो, १४१ मा पाँचौं, १७३ मा छैटौं र १८१ रनमा सातौं विकेट गुमाएको थियो ।
सोमपाल कामीले सूर्य तामाङसँग मिलेर केही समय इनिङ सम्हाल्दै नेपालको २०० रन पार गराए । सोमपाल २७ रनमा आउट भएसँगै नेपालको आठौं विकेट २२१ रनमा गुमेको थियो । त्यसपछि नेपालले ४ रन मात्र जोड्यो ।
क्यानडाका लागि उदय भागवनले ८ ओभरमा ४० रन दिएर ३ विकेट लिए । कप्तान साद बिन जफरले १० ओभरमा ४४ रन दिएर २ विकेट लिए । त्यस्तै इश्वरजत सोहीले पनि २ विकेट लिँदा साहिद अहमदजाइ र हर्श ठाकरले १-१ विकेट लिए ।

