माओवादी नेतृत्व पुरै खाओवादी-किराँती
'प्रचण्ड ढेडु भैसके'
काठमाडौ,२३ माघ।पूर्वमाओवादी नेता गोपाल किरातीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा पुरै नेतृत्व खाओवादी भैसकेको आरोप लगाएका छन् ।
मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै नेता किराँतीले यस्तो आरोप लगाएका हुन। आफ्नै संयोजकत्वमा ‘तेस्रो जनआन्दोलन समिति’ गठन गरि त्यसैको घोषणा गर्दै नेता किराँतीले माओवादीको नेतृत्व तह सबै खाओवादी भएको र अध्यक्ष प्रचण्ड ढेडु खाओवादी बनेको समेत भन्न भ्याए।
जनयुद्धकालिन माओवादी नेता एवं पुर्व मन्त्री समेत भैसकेका किरातीको संयोजकत्वमा ‘तेस्रो जनआन्दोलन समिति’ गठन भएको छ । कोशी प्रदेश नामाङ्कन खारेजी र पहिचानसहितको समाजवादका लागि समिति गठन भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।समितिको सदस्य सचिवमा कृष्ण चोङ्बाङ रहेका छन् ।
‘तेस्रो जनआन्दोलन समिति’ का सदस्यहरुमा विश्वेन्द्र पासवान, बुद्वराज लामा, बलदीप राई, रामनारायण पाल, चन्द्र श्रीशमगर, राम मगर, तिलक मगर, आशा तामाङ, रामभक्त कुरुम्बाङ, खगेन्द्र माखिम, एविराज आङ्देम्बे, दलमर्दन कामी, आरएन राई, सोविन थिङ, रेखराज राई, चेतन तुम्बाहाङ, डा. मित्र परियार र लोकेन्द्रराज थापा रहेका छन् ।
ब्राम्हणवादी सत्ताको अन्त्यका लागि तेस्रो जनआन्दोलन तयारीमा केन्द्रित रहँदै दलाल पुँजीवाद र भ्रष्टाचारी शासनलाई ध्वस्त पारेर पहिचान सुनिश्चित्ताको समाजवादी व्यवस्था स्थापना गर्ने समितिको राजनीतिक लक्ष्य रहेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, संविधानमा व्यवस्था भएको गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशीकरण, मौलिक हक, स्वतन्त्र परराष्ट्रनीति र भ्रष्टाचार अन्त्य, सुशासनका बाधक प्रमख तीन दल रहेको समितिको ठहर छ । माओवादी, नेपाली कांग्रेस, नेकपा (एमाले) सहितका आलोपालो दल र शासकहरु नै प्रतिक्रान्तिको कारक तत्व भएको समितिले उल्लेख गरेको छ ।
समितिले तीन ठूला दललाई जनआन्दोलन र मधेश आन्दोलनका उपलब्धी रक्षाका लागि सार्वजानिक आत्मालोचनासहित रुपान्तरणका लागि आग्रह गरेको छ । अन्यथा दलित, श्रमिक तथा विस्थापितवर्ग, लिङ्ग, जातजाति, क्षेत्र एवं देशभक्तहरुको तेस्रो जनआन्दोलनको ज्वारभाटाले ध्वस्त पारिदिने उनीहरुको चेतावनी छ ।
साथै, कोशीलगायत बागमती, गण्डकी, कर्णालीजस्ता प्रदेशका नामहरु खारेज गरी पहिचानको आधारमा नामाङ्कन गरिनुपर्ने उनीहरुको माग छ । समितिका संयोजक किरातीले कांग्रेस, माओवादी र एमालेको रवैया प्रतिक्रान्ति र ब्राम्हणवादी भएको पनि आरोप लगाए । २०७४ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिचानको मुद्दा त्यागेर अन्यत्र गएपछि आफूहरु छुट्टिएको उनको भनाइ छ । माओवादीका कार्यकर्ता, घाईते, सहिद परिवारको तहमा माओवादी विचार, भावना र संस्कार जिवितै रहेको उनको भनाइ छ । तर, नेतृत्वको तहमा सबै खाओवादी भएको र प्रचण्ड ढेडू खाओवादी बनेको उनको आरोप थियो।

