देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं, २१ माघ । आइतबार नेपालका धेरै स्थानहरुमा मौसम बदली भई वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार विशेष बुलेटिन जारी गर्दै देशका विभिन्न ठाउँमा वर्षा र हिमपात हुने जानकारी दिएको हो । यससँगै चिसो बढ्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात हुने छ । त्यस्तै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा वर्षा हुने छ । मधेश र पूर्वी तराईका जिल्लाहरुमा भने खासै असर पर्नेछैन ।
अहिले नेपालमा पश्चिमी वायुसँगै न्यूनचापीय प्रणाली भित्रिएको र त्यो विस्तारै फैलिँदै गएर मौसममा बदली गराइ वर्षा र हिमपात हुने सम्भावना रहेको छ । सोमबार साँझदेखि भने मौसममा क्रमिक सुधार हुँदै जाने जनाइएको छ ।
वर्षा र हिमपात ल्याउने मौसम प्रणालीको असरले तापक्रम घटेर चिसो बढ्ने र यसले जनजीवनमा असर गर्ने भएकाले सतर्कता अपनाउन महाशाखाका मौसमविदले आग्रह गरेका छन् ।

