आर्मीलाई पहिलोपटक आहा ! रारा पोखरा गोल्डकपको उपाधि

पाँचौंपटकको फाइनलमा आर्मीलाई उपाधि

पोखरा, २० माघ । पोखरामा सम्पन्‍न २३औं आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । पहिलोपटक उपाधि जित्‍ने क्रममा आर्मीले परिचित प्रतिद्वन्दी थ्रीस्टार क्लबलाई ३-० गोलअन्तरले हरायो ।

आर्मीको जीतमा जिलेस्पी जङ्ग कार्की, फत्तेमान घले र वसन्त जिम्बाले एक-एक गोल गरे । खेलको ३८औं मिनेटमा सिद्धान्त चौधरीले प्रहार गरेको कर्नरमार्फत जिलेस्पीले लामो हेडिङ गर्दै गोल गर्न सफल भए । थ्रीस्टारका गोलरक्षक अभिषेक बरालले रोक्ने मेसो नै पाएनन् ।

दोस्रो हाफको ८३औं मिनेटमा फत्तेमान घलेले गोल गर्दै आर्मीलाई पहिलो उपाधि सुनिश्चित गराएका हुन् । इन्जुरी समयमा वसन्तले गोल गर्दै आर्मीको ३-० को जीत पक्का गरे ।

आर्मीले पहिलोपटक आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको हो । यसअघि चारपटक फाइनलमा पुगेको भएपनि आर्मीले उपाधि भने जित्‍न सकेको थिएन । पछिल्लोपटक २०७५ सालमा थ्रीस्टारसँगै पराजित भएर आर्मी उपाधिबाट वञ्‍चित भएको थियो ।

त्यसअघि पहिलो हाफको २८औं मिनेटमा आर्मीका वसन्त जिम्बाले पेनाल्टी बक्स नजिकै दिएकाे क्रस राशबहादुरले रिसिभ गर्न सकेनन् । ३४औं मिनेटमा एन्जल महर्जनको प्रहार आकासिँदा थ्रीस्टार बराबरी गर्नबाट वञ्‍चित भयो ।

५९औं मिनेटमा थ्रीस्टारले फ्रिकिक पाएकाेमा राेशन रानामगरको प्रहार बल पाेस्ट नजिकैबाट बाहिरियाे । ६७औं मिनेटमा पेनाल्टी बक्सनजिकै पाएको अर्को अवसरलाई सदुपयोग गर्न नसक्दा थ्रीस्टार पुनः बराबरीको अवसरबाट वञ्‍चित भयो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय