यु-१९ विश्वकपमा नेपालले आज भारतसँग खेल्दै

काठमाडौं, १९ माघ । आइसिसी यू–१९ क्रिकेट विश्वकपको सुपर सिक्स अन्तर्गत नेपालले आज बलियो टोली भारतसँग खेल्दै छ । खेल दिउँसो पौने २ बजेदेखि सुरु हुने छ ।
नेपाल सुपर सिक्सबाट बाहिरिसकेकाले यस खेल प्रतिष्ठाको लडाइँ मात्र हुने छ । नेपाल सुपर सिक्सको पहिलो खेल खेल्नुभन्दा अगाडि नै सेमिफाइनल दौडबाट बाहिरिसकेको थियो । नेपाललाई हराएमा भारत सेमिफाइनलमा प्रवेश गर्ने छ ।
भारतसँग नेपालले गत महिना एसिया कपमा पनि खेलेको थियो जसमा नेपालले खराब प्रदर्शन गर्दै ५३ रनमै अलआउट भएको थियो । नेपाल आफ्नो प्रदर्शनमा सुधार गर्दै भारतलाई चूनौति दिने सोचमा हुने छ ।
नेपाल समूह चरणको खेलमा न्युजिल्यान्ड र पाकिस्तानसँग पराजित हुँदा अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा प्रवेश गरेको थियो । अंकविहीन रहेर सुपर सिक्स खेलेको नेपालको सेमिफाइनल सम्भावना भने पहिले नै कमजोर रहेको थियो ।

