राप्रपाबाट रविन्द्र मिश्र र रेखा थापा आउट हुँदै !

काठमाडौं, १८ माघ । नेपालको संविधान अनुसार गणतन्त्र र संघीयता मानेर राजनिती गरिरहेको तर राजसंस्था पुनर्स्थापना र हिन्दुराज्य कायम गर्ने अभियान पनि नछाडेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा बबण्डर मच्चिएको छ।
राजसंस्था पुनर्स्थापना र हिन्दुराज्य कायम गर्ने भन्दै आन्दोलन थाल्ने तयारीमा रहेको राप्रपामा बरिस्ठ उपाध्यक्ष भनिएका रविन्द्र मिश्र र नायिका एवं नेतृ रेखा थापाले असन्तुष्टि व्यक्त गर्न थालेका छन् । खासगरी कोशी प्रदेशको सभामुख लिएपछि विवाद चुलिएको राप्रपामा पछिल्लो समय रेखा थापाले अमेरिकामा बच्चा जन्माउन लागेको र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको छोरी अमेरिका बसेर पढेको बिषयमा समेत बबण्डर मच्चिएको छ।
कुनै लिखित प्रतिबद्धता नजनाइ र लेनदेन समेत गर्नु नपर्ने गरि राप्रपाले आकस्मिक रुपमा कोशी प्रदेशको सभामुख पाएको थियो। पार्टीका प्रदेश सांसद अम्बरबहादुर विष्टलाई सभामुख बनाउने तर संघीयताको बिरोध गर्ने द्वैध चरीत्र निभाइरहेको राप्रपा भित्र सोही कारण नेताहरू बिच बिबादास्पद अभिव्यक्तिको झटारो प्रहार भैरहेको छ।
कोशीको सभामुख नलिन केन्द्रीय निर्देशन समितिले पटकपटक दिएको निर्देशनलाई अवज्ञा गर्दै राप्रपा अध्यक्ष लिङ्देनले कोशीको सभामुख लिएपछि नेताहरू बिच पक्ष विपक्षको अवस्था आएको हो। त्यससँगै अध्यक्ष लिङ्देनले पार्टी केन्द्रिय कार्यसम्पादन समिति सदस्य नायिका रेखा थापा बच्चालाई जन्म दिनकै लागि अमेरिकामा गएकोमा समेत कटाक्ष गरे। त्यसको प्रतिवाद गर्दै रेखाले लिङ्देनविरुद्ध जेहाद नै छेडिन।
यी र यस्तै विवाद खेप्दा खेप्दै अध्यक्ष लिङ्देनका विरुद्ध अहिले उनकै लागि अध्यक्ष बनाउन भूमिका खेलेका वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद डा.धवल शमसेर राणा संगठित हुन थालेका छन् ।
नेताहरू आफ्ना विरुद्ध उभिन थालेको सुइँको पाएपछि अध्यक्ष लिङ्देनले बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राप्रपा बुझ्नै बाँकी रहेको समेत बताए।‘रवीन्द्र मिश्रजीले राप्रपा नै के बुझेको छ भनेको ? उहाँ हिजोअस्ती आउनुभएको। उहाँले राप्रपा के बुझ्नु भएको छ ?’ लिङ्देनको भनाइ थियो, ‘उहाँले राप्रपा बुझ्नै बाँकी छ। भर्खर आउनुभएको छ। एक, डेढ वर्ष हुँदैछ। उहाँले सरकारमा जानु ठिक थियो कि थिएन, प्रदेश सभामा सभामुखमा जानु ठिक थियो कि थिएन, उहाँलाई लागेको कुरा भन्नुभयो।’
अध्यक्ष लिङदेनको भनाइ सार्बजनिक भएसंगै फायर भएका मिश्रले पनि यसरी जवाफ फर्काए । ‘अनुभवले दिने परिपक्कता भनेको अनुभवले नै दिन्छ, सैद्धान्तिक ज्ञानले मात्र दिँदैन’ काठमाडौंमा आयोजित कार्यक्रममा पत्रकारहरूसँग कुराकानी गर्दै मिश्रले भनेका थिए, ‘राप्रपामा ३० वर्ष काम गरेका वरिष्ठ नेताहरू हुनुहुन्छ, उहाँहरूले म १५ महिना राप्रपामा जोडिएको मान्छेलाई उहाँ नयाँ हुनुहुन्छ, उहाँलाई राप्रपा राम्रोसँग थाहा छैन भन्नु त्यो अत्यन्त स्वभाविक हो ।’
लिङ्देनले वरिष्ठ उपाध्यक्ष मिश्रको नाम नलिईकन बसको पछाडि बसेको व्यक्तिले आफूलाई चालक सम्झेर खास चालकलाई गाडी चलाउन सिकाएको समेत भने। ‘अनुभव छन् भने त्यसरी होइन है, यसरी चलाउनुपर्छ भन्ने छ भने त्यो पनि सुन्छु’, उनले भनेका छन्, ‘तर जो पछाडि बसेको छ, आफूलाई ड्राइभर भन्छ, तर गाडीचाहिँ जीवनभरि ठोक्काएर थाङ्थिलो पारेको मान्छेले भनेको अनुसार त म कुदाउँदिनँ। जसले जीवनमा एकचोटि पनि एउटा स्ट्यान्डबाट अर्को स्ट्यान्डसम्म राम्रोसँग गाडी पुर्याकोे छैन, भन्नचाहिँ आफूलाई सधैँभरि आफूलाई ड्राइभर हुँ भन्छ, त्यस्तो ड्राइभरको कुरा राजेन्द्रले मानोस् त तपाईंहरू आफैँ भन्नूस् ल ? प्रमाणित छ, म त्यस्तो मान्दिनँ। मान्दिनँ, तपाईंहरू ढुक्कसँगले रहनूस्।’
त्यस्तै नायिका रहेकी नेतृ थापालाई राजेन्द्रले अमेरिकामा बच्चा जन्माउन लागेको भन्नेबित्तिकै रेखाले लेखेकी थिइन-‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो ? अमेरिकामा किन राखेको ?’
यस्तै यस्तै सवाल जवाफ बढ्दै गएपछि अध्यक्ष लिङ्देनले बरिस्ठ उपाध्यक्ष मिश्र र नायिका थापालाई राप्रपामा नटिक्ने र कुनै बहानमा निकाल्ने तयारी समेत गरेको बुझिएको । मिश्र राप्रपा प्रवेश गर्नुअघि साझा विवेकशील पार्टीमा थिए भने नायिका थापा माओवादीमा थिइन् ।

