यु-१९ विश्वकप: नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौं, १६ माघ । दक्षिण अफ्रिकामा जारी आइसिसी यु-१९ विश्वकपमा नेपालको यात्रा सुपर सिक्सबाटै टुङ्गिने पक्का भएको छ । आज भएको खेलहरुमा भारत र पाकिस्तान दुवैले जीत निकालेसँगै नेपालको सेमिफाइनल सम्भावना सकिएको हो ।
भारतले न्युजिल्यान्ड तथा पाकिस्तानले आयरल्यान्डलाई हराउँदै सेमिफाइनलमा लगभग स्थान पक्का गरेका छन् । भारतले न्युजिल्यान्डमाथि २१४ रनको विशाल जित निकाल्दा पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले हरायो ।
अब सेमिफाइनलमा पुग्ने झिनो सम्भावना बङ्गलादेशको मात्र बाँकी छ । नेपाल, न्युजिल्यान्ड र आयरल्यान्डको सेमिफाइनल सम्भावना समाप्त भएको छ । नेपालले भोलि सुपर सिक्सको पहिलो खेलमा बङ्गलादेशसँग खेल्ने छ भने दोस्रो खेल भारतसँग शुक्रबार खेल्ने छ ।
सेमिफाइनलमा पुग्नका लागि नेपालले बङ्गलादेश र भारत दुवैलाई ठुलो अन्तरले हराएर नेटरनरेटमा व्यापक सुधार गरी भारत र पाकिस्तानमध्ये एक बाहिरिने समीकरण बन्नुपर्थ्यो । तर भारत र पाकिस्तानको अब ३ खेलबाट ६ अंक भएको छ र नेपालले दुवै खेल जितेमा पनि ४ अंक मात्र हुने छ ।

