सुपर सिक्समा नेपालको सामना भारत र बङ्गलादेशसँग, सेमिफाइनल पुग्‍न कठिन

प्रतिक भट्ट
Photo: ICC

काठमाडौं, १४ माघ । दक्षिण अफ्रिकामा जारी आइसिसी यु-१९ विश्‍वकप क्रिकेटको सुपर सिक्सअन्तर्गतका खेलहरु मङ्गलबारदेखि सुरु हुँदै छन् । शुक्रबार भएको समुह चरणको अन्तिम तथा निर्णायक खेलमा अफगानिस्तानमाथि १ विकेटको जीत निकाल्दै नेपाल पनि सुपर सिक्समा प्रवेश गरेको थियो । नेपालले भने बुधबार बङ्गलादेश तथा शुक्रबार भारतसँग खेल्ने छ ।

नेपालको समूहबाट पाकिस्तान र न्युजिल्यान्ड पनि क्रमशः पहिलो र दोस्रो हुँदै सुपर सिक्समा प्रवेश गरेका छन् । यस समूहका टोलीले समूह ए मा रहेका दुई टोलीसँग खेल्ने छन् । नेपालले समूह ए का पहिलो र दोस्रोमा रहेका टोलीसँग खेल्ने छ । हरेक समूहका पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका टोलीले अर्को समूहबाट आएका आफ्नै सरहको स्थानमा भएको बाहेकका दुई टोलीसँग खेल्ने छ ।

नेपाल तेस्रो स्थानमा रहेर समूह चरण पार गर्दा नेपालले समुह ए मा तेस्रो स्थानमा रहने टोलीसँग खेल्ने छैन । समूह ए मा पहिलो र दोस्रो स्थानमा रहने टोलीसँग खेल्ने छ । समूह बी र सी बाट सुपर सिक्समा आएका टोलीका लागि पनि यही कुरा लागु हुनेछ ।

अर्को महत्वपूर्ण कुरा के छ भने नेपाल अंकविहिन अवस्थाबाट सुपर सिक्स खेल्ने छ । आफूले हराएको टोली पनि सुपर सिक्समा पुगेको अवस्थामा मात्र उक्त विजय अंक मान्य हुने प्रावधान रहन्छ । नेपालको समूहबाट पाकिस्तानले न्युजिल्यान्ड र नेपाल दुवैलाई हराएका र ती टोली सुपर सिक्समा पनि पुगेकाले पाकिस्तानले ४ अंक र न्युजिल्यान्डले नेपाललाई हराएको र नेपाल पनि सुपर सिक्समा पुगेकाले उसको २ अंक मान्य हुनेछ । नेपालले हराएको अफगानिस्तान सुपर सिक्समा नपुगेकाले नेपाल ० अंकबाट सुपर सिक्स सुरुवात गर्ने छ ।

सुपर सिक्समा नेपाल, पाकिस्तान र न्युजिल्यान्ड तथा भारत, बङ्गलादेश र आयरल्यान्ड एक समूहमा छन् । समूह ए बाट आएको भारतको पनि ४ अंक रहनेछ, बङ्गलादेशको दुई अंक रहनेछ भने आयरल्यान्डको नेपालजस्तै ० अंक रहनेछ । नेटरनरेटमा भने नेपाल आयरल्यान्डभन्दा अगाडि छ ।

सुपर सिक्सबाट शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्ने छन् । नेपाललाई सेमिफाइनलमा पुग्‍न आफ्ना दुवै खेल जित्‍नुपर्ने दबाब रहन सक्छ । भारत र पाकिस्तान पहिल्यै ४ अंकमा भएका कारण दुवै टोलीले अब एक खेल मात्र जितेमा पनि सेमिफाइनलमा स्थान बनाउने छन् ।

नेपाल सेमिफाइनलमा पुग्‍ने सम्भावना कति ?

नेपाललाई सुपर सिक्सबाट सेमिफाइनलमा पुग्‍न निकै कठिन देखिन्छ किनभने नेपालसँग सुपर सिक्सको सुरुवातमा कुनै पनि अंक हुने छैन । भारत र पाकिस्तान पहिल्यै ४-४ अंकमा रहेकाले दुवै टोलीले अब दुई खेलमध्ये एक खेल मात्र जितेमा नेपालको सम्भावना सकिनेछ ।

अर्कोतर्फ नेपालले भारत र बङ्गलादेश दुवैसँगका खेल राम्रै अन्तरले जित्‍नुपर्ने हुन्छ । त्यतिले मात्र पुग्दैन । भारतले नेपालसँग हार्दा न्युजिल्यान्डसँग पनि पराजित हुन पर्‍यो तर  न्युजिल्यान्डले पनि आयरल्यान्डसँग हार्नुपर्छ । पाकिस्तानले दुवै खेल जित्नुपर्छ । त्यसो हुँदा आयरल्यान्ड र बङ्गलादेश बाहिरिन्छन् । न्युजिल्यान्ड भारतलाई हराएर नेपालभन्दा नेटरनरेटमा अगाडि जानु हुँदैन ।

त्यसो भएमा पाकिस्तानको ८ अंक हुनेछ भने नेपालको ४ अंक हुनेछ । भारत र न्युजिल्यान्ड पनि ४ अंकमै रोकिँदा नेटरनरेटको आधारमा नेपाल सेमिफाइनल पुग्‍ने सम्भावना रहन्छ । यही केस भारत र नेपाल अघि बढ्दा पाकिस्तान बाहिरिने समीकरण पनि बन्‍न सक्छ । तर यो सबै निकै नै कठिन समीकरण हो । तुलनात्मक रुपमा बलियो भारत र पुर्व विजेता बङ्गलादेशलाई हराउन नै नेपाललाई त्यति सहज भने हुने छैन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय