रेखाले अमेरिकामा बच्चा जन्माउछु भन्दा राजेन्द्रको व्यंग्य

काठमाडौ,१३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी नेतृ रहेकी नायिका रेखा थापा बच्चा जन्माउन अमेरिका पुगेकोमा व्यंग्य गरेका छन् ।
नायिका रेखा थापा पहिलो सन्तान जन्माउन अमेरिका पुगेकी छन् । उनले केहीदिन अघि अमेरिकामै बेवी सावर गरेको फोटो पनि सार्बजनिक गरेकी थिइन् । उनले यसै महिना बच्चा जन्माउने चिकित्सकले बताएका छन् ।
रेखाले अमेरिकामा बच्चा जन्माउने कुराको राप्रपा अध्यक्ष लिङ्देनले भने व्यंग्य सहित कडा टिप्पणी गरेका छन् ।राष्ट्रियता सम्बन्धी प्रवचन कार्यक्रममा बोल्दै लिङ्देनले अहिलेको राजनीतिक व्यवस्थाले नेपाल बस्न लायक देश नरहेको सन्देश नयाँ पुस्तामा गइरहेको भन्दै नेतृ रेखाको उदाहरण दिएका थिए।
राप्रपानिकट प्राज्ञिक परिषद्को कार्यक्रममा अध्यक्ष लिङ्देनले सुरुमा रेखाको नाम नलिइकन अर्का एक जना पूर्व गृहमन्त्रीले बुहारी लिएर अमेरिका गएको प्रसंग निकाल्दै नाति नेपालमा नजन्मियोस् भनेर उनले सुत्केरी गराउन बुहारी नेपालबाट अमेरिका लगेको बताएका थिए ।
त्यसपछि लिङदेनले फेरि थपे-‘एक जना पूर्व गृहमन्त्रीको कुरा मात्र होइन, एक जना चर्चित कलाकारले बेबी प्लान भनेर पोष्ट गर्नुभयो, प्लेन उडेको देखाएर अमेरिका भन्नुभयो । नानी जन्माउन अमेरिका । जीवनमा एउटा महिलाले पहिलोचोटी प्राप्त गर्ने सन्तान यो धर्तीमा जन्माउन चाहँदैन । ऊ नेपाली नहोस्, नेपाली नहुनुमा आफ्नो सन्तानको भविष्य देख्छ भने देश र राष्ट्रियताको अवस्था कहाँ छ ?’
अध्यक्ष लिङ्देनको यो भनाइमा रेखाले कुनै प्रतिक्रिया दिएकी छैनन् तर,उनका समर्थकले भने आलोचना र बधाई दुबै दिइरहेका छन् ।

