कांग्रेस-माओवादी खटपट ! ओली-प्रचण्ड नजिक हुँदै

काठमाडौं, १३ माघ । राष्ट्रिय सभाको निर्वाचनमा भएको धोकालाई लिएर सत्ता गठबन्धनमा खटपट सुरु भएको छ। खासगरी कोशी प्रदेशमा माओवादी उम्मेदवार पराजित भएपछि कांग्रेससँग माओवादी नेतृत्व रिसाएको छ।
कोशीमा गठबन्धनबाट कांग्रेसका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौला र माओवादीबाट जनयुद्ध कालिन घाइते चम्पादेवी कार्की उम्मेदवार थिए। चुनावी नतिजा आउँदा सिटौला बिजयी हुँदा कार्की पराजित भइन । यसैले गठबन्धनमा धोका भएको भन्दै कांग्रेससँग माओवादी बिच्किएको हो।
सात वटै प्रदेशबाट उम्मेदवार रहेका गठबन्धनका १९ उम्मेदवार मध्य १८ ले जित हातपार्दा कोशीमा महिलातर्फ एमालेकी उम्मेद्वार रुक्मिणी कोइराला निर्वाचित भइन। सत्ता गठबन्धनको मत धेरै हुँदा पनि कांग्रेस भित्रको डा.शेखर कोइराला पक्षले माओवादी उम्मेदवार चम्पादेवी कार्कीलाई मत नदिएको भन्दै माओवादीको सिंगो कोशी प्रदेशका नेताकार्यकर्ता रुष्ट भएका छन्।
उनीहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै कोशी घटनाले कांग्रेससँगको सहकार्य तोड्ने चेतावनी दिइरहेका छन् । निर्वाचनमा आफ्नो उम्मेदवार कार्की पराजित हुनुमा कांग्रेसका शेखर कोइराला समूहले एमालेकी कोइरालालाई मतदान गर्नु नै हो भने माओवादी बुझाइ छ। त्यसैगरी संगै उम्मेदवार रहेका र राष्ट्रिय सभाको अध्यक्ष बन्ने तयारीमा रहेका सत्ता गठबन्धनका अर्का उम्मेद्वार कृष्ण सिटौलाले समेत आफू केन्द्रित भएर चुनावी रणनीति बनाएको माओवादीको दाबी छ।
सिटौलालाई जिताउनको लागि कांग्रेसको जम्बो टिम नै विराटनगर उत्रिएको थियो । शेखर कोइराला समेतको शिर्ष नेता र पदाधिकारी सहित रामहरि खतिवडा,गुरु घिमिरे,केदार कार्की,अमृत अर्याल जस्ता नेताहरू सिटौलाको लागि खटेका थिए।चुनावी नतिजामा माओवादी उम्मेदवार पराजित नभएको भए राष्ट्रियसभाको अध्यक्ष सिटौला कन्फर्म थिए । तर,अब माओवादीले सिटौलालाई अध्यक्ष पद नछोड्ने अडान लिने भएको छ ।केही माओवादी नेताहरू एमालेलाई राष्ट्रिय सभाको अध्यक्ष दिएर फकाउने र कांग्रेसलाई एक्ल्याउने तयारीमा एमालेसँग सहकार्य र पार्टी एकताको समेत वकालत गर्न थालेका छन् ।
चुनावी परिणाम सोचेभन्दा फरक आएपछि बालुवाटारमा भेला भएका माओवादी नेताहरुले अब कुनैपनि हालतमा राष्ट्रियसभाको अध्यक्ष कांग्रेसलाई दिन नहुने लविङ थालेका छन् । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आफूहरुलाई कोशीमा कांग्रेसको नेतृत्बाट गम्भीर धोका भएको भन्दै राष्ट्रियसभाको अध्यक्ष दिन नसकिने धारणा राखेको बालुवाटारनिकट उच्च स्रोतले जनाएको छ ।
कोशीको पछिल्लो राजनीतिक घट्नालाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा पनि रुष्ट छन् । शेखर कोइराला समूहका केदार कार्की मुख्यमन्त्री बन्दा एमालेले गुन लगाएको भन्दै शेखरले अहिले राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई सोही गुन तिरेको धेरैले अनुमान गरेका छन् । तर, सभापति देउवा पनि शेखरको गतिविधिलाई लिएर चिढिएको कांग्रेस नेताहरू बताउँछन् ।
सभापति देउवाले आफूनिकट नेताहरुको बैठक राखेर शेखर समूहको गतिविधिलाई यसरी नै छुट दिन नसकिनेबारे निश्कर्ष निकाल्ने र पार्टी हितविपरित कदम चाल्नेलाई कडा कारबाही गर्ने तयारी थालेका छन् ।
उता कांग्रेस नेता शेखरले भने प्रधानमन्त्री प्रचण्ड र उनले नेतृत्वको गरेको सरकारको औचित्य सकिएको भन्दै आएका छन् । उनले तत्काल कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने आवश्यकता समेत औंल्याएका छन् । कोइरालासँगै महामन्त्री गगन थापा पक्ष पनि माओवादी नेतृत्वको सरकार बिस्थापनको पक्षमा रहेको छ।
कांग्रेस भित्रको आन्तरिक द्वन्द्व र कम्युनिस्ट एकता हुनुपर्ने केही नेताको धारणाले माओवादी भित्र पनि कांग्रेस सँगको सहकार्यमा पुनःबिचार हुनुपर्ने बहस सुरु भएको छ। अब एमाले र माओवादी सहित सबै कम्युनिस्ट घटक बीच तत्काल सहकार्य र भविस्यमा पार्टी एकता सम्मको छलफल सुरु भएको नेताहरू बताउँछन् ।
एमालेले राष्ट्रिय सभा अध्यक्ष लिनका लागी माओवादी नेताहरुसँग निरन्तर छलफल गर्न उपाध्यक्ष बिष्णु पौडेल नेतृत्वको टिम नै बनाएको छ। जसले माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ,बर्षमान पुन,जनार्दन शर्मा,हरिबोल गजुरेल लगायतसँग कुराकानी समेत गर्न थालेको छ।

