बागलुङको एउटै ठाउँका ६८ परिवारले गाउँ छाडे

बागलुङ, १६ माघ । बागलुङको एउटै गाउँपालिकाबाट पछिल्लो नौ महिनामा ६८ परिवार बसाइँ सरेका छन् । जिल्लाको काठेखोला गाउँपालिकाबाट नौ महिनाको अवधिमा ६८ परिवारका दुई सय ५२ जना बसाइँ सरेको एक तथ्यांकले देेेखाएको छ।

गाउँपालिकाले तयार गरेको तथ्याङ्कअनुसार गत वैशाखदेखि पुस मसान्तसम्म अन्यत्र बसाइँ सर्नेको संख्या यस्तो देखिएको हो। पालिकाको ८ वटा वडा मध्य सबैभन्दा धेरै वडा नं ५ र ६ बिहुँबाट बसाइँ सरेर बाहिर गएको गाउँपालिकाको भनाइ छ। बिहुँबाट मात्रै नौ महिनामा २६ परिवारका एक सय पाँच जनाले गाउँ छाडेको देखिएको छ। ती मध्य वडा नं ५ बाट १३ परिवारका ४९ सदस्य र वडा नं ६ का १३ परिवारका ५६ जनाले गाउँ छाडेका हुन् । गाउँपालिकाका अनुसार वैदेशिक रोजगारीमा रहेका र उच्च शिक्षाका लागि विदेशमा रहेका युवाका परिवार धेरै बसाइँ सरेका छन् ।

गाउँपालिकाबाट बसाइँसराइ लिएर जानेबाहेक थातथलो छाडेर अन्यत्रै बस्नेहरूको सङ्ख्या पनि त्यस्तै उच्च छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले फन्को मारेको साविकको बिहुँ गाविस हालका वडा नं ५ र ६ सदरमुकामबाट छोटो दूरीका वडा हुन् । यहाँ सडक सुविधा सहित दुई सामुदायिक क्याम्पस, विद्यालय, खानेपानी, विद्युत्, स्वास्थ्य संस्थालगायतका संरचना तयार भएका छन् ।तर, पनि गाउँ रित्तिन नछाडेको गाउँपालिकाको तथ्यांकले देखाउछ।

नौ महिनाको अवधिमा काठेखोलामा सबैभन्दा कम बसाइँसराइ वडा नं १ मा छ । यो वडाबाट नौ महिनामा दुई परिवारका पाँच जनामात्रै गाउँ छाडेर अन्यत्रै गएको गाउँपालिकामा रेकर्ड छ।

त्यसैगरी वडा नं २ भीमापोखराबाट पाँच परिवारका १२, वडा नं ३ धम्जाबाट ११ परिवारका ३५, वडा नं ४ तङ्ग्रामबाट ११ परिवारका ४७ र वडा नं ७ रेशबाट आठ परिवारका ३३ जना बसाइँ सरेको गाउँपालिकाको तथ्याङ्क छ । वडा नं ८ लेखानीबाट पाँच परिवारका १५ जना बसाइँ सरेका छन् ।

गाउँपालिकामा पछिल्लो नौ महिनामा २७ परिवार गाउँ फर्किएका छन् । बसाइँसराइ गरेर गाउँ छाडेका २७ परिवारका ९७ सदस्य गाउँ फर्केको पनि रेकर्डमा देखिन्छ। बसाइँसराइको तथ्याङ्क बढ्न थालेपछि गाउँपालिकाले आफ्ना नीति तथा कार्यक्रम र बजेटमा सोहीअनुसार तर्जुमा गर्न थालेको छ।यद्यपि यहाँबाट बसाइँ सरेका कसैले पनि घरगोठ, पाखोबारी र खेत भने बिक्री गरेका छैनन् । त्यसका कारण बाँझो जग्गाको क्षेत्रफलसमेत बढेको छ ।

बागलुङका १० स्थानीय तहमध्ये जैमिनी नगरपालिका, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा बसाइँसराइ धेरै भएको छ । काठेखोलाको जस्तै तथ्याङ्क अन्य स्थानीय तहले तयार गरिनसकेका भए पनि काठेखोलाबाहेकका स्थानीय तहमा पनि बसाइँसराइको दर उच्च नै रहेको बुझिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय