मन्दिर भन्दा स्कुलको पुर्वाधार नाजुक !

ताराप्रसाद पोख्रेल

इटहरी,११ माघ। इटहरी उपमहानगरपालिका वडा नं १६ मा रहेको जब्दी आधारभुत बिद्यालयको भौतिक संरचना जिर्ण र नाजुक अवस्थामा पुगेको छ ।

उपमहानगरपालिका अन्तर्गतको शिक्षा महाशाखाले समेत विद्यालयको यो अवस्थामा कुनै चासो र खोजिनिती गरेको देखिदैन । स्कुलमा लगाइएको टिनको छानो जिर्ण भएर पानी चुहिएको छ भने विद्यार्थीको पठनपाठनमा समेत प्रभाव परेको देखिन्छ।’कहिलेकाहीँ पानी पर्दा पढ्न बसेको विद्यार्थीहरु समेत भिज्ने अवस्था छ’-एक अभिभावक भन्छन् -‘यस्तो अवस्था देख्दा छोराछोरी स्कुल पठाउन समेत अफ्ट्यारो लाग्छ।’

विद्यालयको टिनको छाना परिवर्तन गरि नयाँ टिन व्यवस्था गरिदिन नगरपालिकालाई गत श्रावण महिनामै अनुरोध गरेपनी हालसम्म कुनै चासो नदिइएको गुनासो छ। बिद्यालयले ४ कोठे २ तले भवन बनाउन  र जिर्ण भएकोलाई मर्मत गर्न उक्त रकम निकाशा गराउन पटकपटक प्रयास गर्दा पनि कुनै सुनुवाइ नभएको विद्यालयका प्रधानाध्यापक गोपाल पराजुलीको भनाइ छ। यस विद्यालयमा आधाभन्दा बढी दलित विद्यार्थीहरु अध्ययन गर्दछन।

प्रधानाध्यापक पराजुलीले भनेजस्तै यतिबेला विद्यालयको अवस्था साच्चै नाजुक देखिन्छ।अहिले बिद्यालयको ५ वटा ब्लक मध्य एउटा ब्लक जिर्ण छ भने बाकी एउटामा अफिस र अन्य ३ वटा ब्लकमा स्कुल संचालन हुदै आएको छ। अवस्था यस्तो सम्म छ कि एउटै कोठालाई बार लगाएर दुई कोठा बनाएर पढाइ संचालन गर्नुपरेको छ। विद्यालयमा हाल २ सय ६१ जना विद्यार्थी रहेका छन् । ती मध्य बालबिकाशमा १७ छात्रा र २४ छात्र छन भने सरदर प्रत्येक कक्षामा ३० भन्दा बढी बिद्यार्थी रहेको देखिन्छ।

बिद्यालयमा रहेका विद्यार्थी मध्य १४४ जना दलित विद्यार्थी छन । तिनिहरुको अबस्था झन् दयनिय छ । बिद्यालयमा आफ्नै खेल मैदान नहुदा समस्या छ भने खेलकुदका सामाग्री पनि गतिलो छैन। अझै अचम्मको कुरा के छ भने स्कुलको भन्दा बढी खुल्ला स्थान नजिकको मन्दिरलाई छुट्टाइएको छ।विद्यालय साँघुरो छ तर,नजिकको मन्दिरको लागि भने फराकिलो चौर छ।मन्दिर सफा छ तर,स्कुलको अवस्था नाजुक छ।

विद्याको मन्दिर भनिएको विद्यालयलाई भन्दा पूजा गर्ने मन्दिरलाई धेरै सफा र फराकिलो बनाउनुको अर्थ विद्यालय नभएपनी हुन्छ तर मन्दिर चाहिन्छ भन्न खोजिएको हो र ? पुजा गर्ने मन्दिर सफा हुनुपर्छ यो ठिक हो तर, संगैको विद्यालय पनि राम्रो हुनुपर्छ होइन र ? अनि विद्यालय राम्रो भए विद्यार्थीको पढ्ने वातावरण पनि पक्कै राम्रो हुनेछ। त्यसैले स्थानीयले मन्दिर जस्तै संरक्षण र सफा विद्यालय पनि हुनुपर्छ भन्ने भावना राख्न सके मात्रै पढाईको स्तर समेत वृद्धि हुनेछ।

आफ्नै छोराछोरी पढ्ने र बस्ने अनि भविस्यका कर्णधार जन्माउने स्कुललाई स्थानीय तथा नगरपालिका समेतले वेवास्ता गर्नुलाई सभ्य मान्न सकिन्न । त्यसैले गुणस्तरीय शिक्षा र भौतिक पुर्वाधारमा लगानी गरि विद्यालयलाई पठनपाठनका लागि योग्य बनाउनु आजको आवस्यकता हो।तसर्थ विद्यालय र विद्यार्थी दुबैको लागी बस्ने बेन्च, लेख्ने बोर्ड, ब्यवस्थित टिनको छानो,स्वच्छ र शुन्दर वातावरण,स्वच्छ पिउनेपानी,लाइब्रेरी हुनैपर्छ।

टिनको छानो चुहिएर जिब्सन भिज्नु र त्यसैबाट पानीको थोपा किताबमा पर्नु,शौचालय दुर्गन्धित हुनु र राम्रो लाइब्रेरी नहुनु दु:खद कुरा हो। हाल विद्यालयमा ५ जना स्थायी शिक्षक, २ जना राहत, २ जना बालविकास, कर्मचारी २ , नगर शिक्षा अनुदानमा ७/८ कक्षा पढाउने १ जना र प्रदेशबाट कम्प्युटर शिक्षक १ जना छन । यो दरबन्दी अनुसार सरकारले झन्डै ११/१२ लाख तलब भत्ता दिनु त पर्छ नै त्यसैले विद्यालयको भौतिक संरचना निर्माणमा पनि ध्यान दिन जरुरी छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय