कोशीमा गठबन्धन भित्रै अन्तर्घात !

विराटनगर,११माघ ।राष्ट्रिय सभा निर्वाचनमा कोशीमा सत्ता गठबन्धनको उम्मेदवारलाई गठबन्धन भित्रैबाट अन्तर्घात भएको छ। मत परिणाम अनुसार सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी नेतृ चम्पा कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् ।
उनले माओवादी केन्द्रकी उम्मेदवार ओखलढुंगाकि चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गरेकी हुन् । जब कि सत्ता गठबन्धनको मतभार एमाले-राप्रपा भन्दा धेरै थियो।
एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६ मतभार पाइन् भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मतभार पाइन् ।
गठबन्धनकि उम्मेदवार कार्कीलाई प्रदेशसभातर्फ बाट नै घात भएको देखियो । अर्थात गठबन्धन भित्रकै प्रदेश सांसदले उनलाई भोट दिएनन् । प्रदेशबाट एमालेकी कोइरालालाई ४९ र कार्कीलाई ४४ जनाले मात्रै मतदान गरे । प्रदेशसभामा कोइरालाले २५९७ मतभार र कार्कीले २३३२ मतभार पाइन् । स्थानीय तहतर्फ काेइरालालाई १३१ जना र कार्कीलाई १४० जनाले मतदान गरेका थिए । जस अनुसार कोइरालाको मतभार २४८९ र कार्कीको मतभार २६६० भएको थियो ।

